विमान दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौँ लगिँदै

हिमाल प्रेस ३ माघ २०७९ १०:१५
10
SHARES
विमान दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौँ लगिँदै

पोखरा- पोखरामा आइतबार भएको यती एअर दुर्घटनामा मृतकका परिवार तथा आफन्तले पोखरामा बुझ्नेबाहेक अन्य शव काठमाडौँ लगिने तयारी भएको छ।

चालकका दलका ४ गरी ७२ जना सवार जहाज दुर्घटनामा हालसम्म ७० जनाको शव भेटिएको छ । २ जनाको अझै भेटाउन सकिएको छैन। दुर्घटनाको २ दिनपछि मात्र गएरातिदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम सुरु भएको हो।

मंगलबार बिहान ९ बजेदेखि ३ वटा बेडमा राखेर आफन्तको रोहबरमा पोस्टमार्टम प्रक्रिया सुरु गरिन लागेको डा सन्तोष बानियाँले जनाए। पोखरामा २० जनासम्मको पोस्टमार्टम गरी बाँकीलाई हवाई यातायातमार्फत काठमाडौं लगिन लागेका जनाइएको छ।
त्यसका लागि मृतकका आफन्त बिहानैदेखि अस्पताल परिसरमा जुटेका छन्। २ दिनदेखि शव बुझ्न नपाएका उनीहरुमा पीडामाथि पीडा थपिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार संकलित ७० शवमध्ये हालसम्म ४२ जनाको पहिचान भएको छ।

साथै पहिचान भएका शवमध्ये २० जनासम्मको पोस्टमार्टम यही हुनेछ । प्रहरी प्रवक्ता खड्काले भने, ‘तर यही गर्न मिल्नेको पनि कतिपयले आफन्त काठमाडौं भएकोले उतै लैजान पाए हुन्थ्यो भन्नुभएकोले पहिचान भएकामध्येसहित विदेशी र पहिचान नभएकासहितको शव काठमाडौं पठाउने तयारी छ।’
पोस्टमार्टमका लागि काठमाडौँबाट फरेन्सिक विशेषज्ञको २ सदस्यीय टोली आएको छ। अस्पताल निर्देशक प्राडा भरतबहादुर खत्रीअनुसार उनीहरुसहित ७ सदस्यीय पोस्टमार्टम टिम बनाइएको छ। जसमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका २, मणिपाल शिक्षण अस्पतालका २, गण्डकी मेडिकल कलेजका १ जना छन्। त्रिवि शिक्षण अस्पतालका डा गोपाल चौधरी र डा समारिका दाहाल सोमबार दिउँसोमात्र पोखरा आएका हुन्।

काठमाडौँदेखि पोखराका लागि उडेको यती एअरको एटिआर–७२ विमान आइतबार बिहान सेती खोंचमा दुर्घटनाग्रस्त भएको हो। विमान दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन। त्यसका लागि मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाबारे अनुसन्धान गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।

प्रकाशित: ३ माघ २०७९ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =