सत्तासाझेदारीबाट बाहिरिने नागरिक उन्मुक्तिको संकेत

हिमाल प्रेस २ माघ २०७९ २०:३०
8
SHARES
सत्तासाझेदारीबाट बाहिरिने नागरिक उन्मुक्तिको संकेत

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीले सत्तागठबन्धनबाट बाहिरिने संकेत गरेको छ। संघीय सरकारमा १ मात्र मन्त्रालय लिएर सत्तामा नजाने अडान राखेसँगै नाउपा सरकारबाट बाहिरिने बुझिएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताहरूको बैठक जारी छ। बैठकले मन्त्रालयको भागबण्डा टुंग्याउन बाँकी नै छ। शीर्ष नेताहरूको सहमतिअनुसार नाउपाले संघीय सरकारमा १ मन्त्रालय पाउने भएको हो।

सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालय भागबण्डाको सहमति भएको छ। सोही सहमतिलाई औपचारिक निर्णय गर्न बालुवाटारमा बैठक बसेको हो।

नाउपा सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि स्वत: फिर्ता हुनेछ।

लुम्बिनी प्रदेशमा उपसभामुखमा उम्मेदवारी दर्ता गरेर नाउपाले सत्तासाझेदारीबाट बाहिरिने संकेत गरेको देखिन्छ। यस्तै सुदुरपश्चिममा सभामुख निर्वाचनमा अवरोध सिर्जना गरेर नाउपाले संघको सत्तासाझेदारीबाट बाहिरिने कसरत गरेको बुझिएको छ।

नेापली कांग्रेस सुदुरपश्चिम र लुम्बिनीमा नाउपालाई सत्तागठबन्धनबाट निकालेर अहिलेको समीकरण फुटेको सन्देश छर्ने प्रयास गर्दैछ। यी दुई प्रदेशमा नाउपा र कांग्रेसकै प्रयासमा सरकार बने संघको सत्तागठबन्धन भत्किने छ।

कांग्रेसले पहिलो विकल्पमा सुदुरपश्चिमको सभामुख र लुम्बिनी प्रदेशको उपसभामुख लिने प्रयास गरेको छ। दोस्रो विकल्पमा लुम्बिनीको उपसभामुख नाउपालाई दिएर सुदुरपश्चिमको सभामुख लिने प्रयास गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =