अस्ट्रेलियन ओपन राउन्डअप : नाडाल र मेदभेदेबले पार गरे पहिलो खुड्किलो, किरयोस भने नखेल्ने

हिमाल प्रेस २ माघ २०७९ १९:२५
6
SHARES
अस्ट्रेलियन ओपन राउन्डअप : नाडाल र मेदभेदेबले पार गरे पहिलो खुड्किलो, किरयोस भने नखेल्ने

काठमाडौँ- राफाएल नाडालले अस्ट्रेलियन ओपनको उपाधि रक्षा अभियान बेलायतका ज्याक ड्रापरलाई हराएर सुरु गरेका छन्। पुरुष एकलतर्फ नाडालले सोमबार ड्रापरमाथि ७–५, २–६, ६–४, ६–१ को जित दर्ता गरे। डिफेन्डिङ च्याम्पियन नाडालले पहिलो चरणको खेलमा विजय प्राप्त गर्दा अस्ट्रेलियाका स्टार निक किरयोसले भने आफ्नै देशमा सुरु ग्रान्डस्लामबाट नाम फिर्ता लिएका छन्।

महिलातर्फ उच्च वरीयताकी इगा स्वाटेकले ज्युल निएमेइरलाई पराजित गरिन्। पहिलो दिनको प्रतिस्पर्धामा जेसिका पेगुला र कोको गौफ पनि सफल भए।

गत वर्ष यूएस ओपनको अन्तिम १६ बाट बाहिरिएका स्पेनिस स्टार नाडाल अस्ट्रेलियन ओपनमा भाग लिन मेलबर्न ओर्लिनुअघि खराब लयमा थिए। पछिल्ला सातमध्ये ६ खेल हारेका नाडालका लागि २१ वर्षीय ड्रापर सजिलो विपक्षी ठहरिएनन्।

विश्व वरीयताको ३८ औँ स्थानमा रहेका बेलायती खेलाडी ड्रापरले २२ पटक ग्रान्डस्लाम जितेका नाडाललाई दोस्रो सेटमा हराउन सफल भए। दोस्रो सेट हारे पनि बाँकी सेटमा दबदबा कायम राखेका नाडालका लागि जित अर्को कारणले पनि स्मरणीय रह्यो। कारण थियो, बल ब्वाईले झुक्किएर नाडालको र्‍याकेट कोर्टबाहिर पुर्‍याउनु।

‘यहाँ फर्कन पाउँदा उत्साहित छु। यो नयाँ सुरुवात हो। किनभने पछिल्ला केही महिना मेरा लागि कठिन रहे,’ अस्ट्रेलियन ओपनको मुख्य कोर्ट रोड लेभरमा विजयी सुरुवात गरेपछि नाडालले भने।

नाडाल जस्तै डानिल मेदभेदेबले पहिलो चरणमा जित हासिल गरेका छन्। विश्व वरीयतामा सातौँ स्थानमा रहेका रुसी मेदभेदेबले अमेरिकी विपक्षी मार्कस जिरोनलाई ६–०, ६–१, ६–२ ले पाखा लगाए। पछिल्ला दुई संस्करणका फाइनलमा पुगेका मेदभेदेब दोस्रो पटक ग्रान्डस्लाम जित्ने अभियानमा छन्।

कीर्तिमानी नाडालर र मेदभेदेबले जितसहित वर्षको पहिलो ग्रान्डस्लामको सुरुवात गरिरहँदा किरयोस भने पत्रकार सम्मेलनमा उपस्थित थिए। जहाँ उनले घुँडाको चोटका कारण अस्ट्रेलियन ओपन नखेल्ने निर्णय सुनाए।

‘नखेल्ने निर्णय सुनाउनु पर्दा म असाध्यै निराश छु। मेरा लागि अस्ट्रेलियन ओपन सधैँ आकर्षक प्रतियोगिता रहँदै आएको छ,’ गत वर्ष विम्बल्डनको फाइनलसम्म पुगेका किरयोसले भने। उनलाई यसपालि अस्ट्रेलियन ओपन जित्नसक्ने खेलाडीको सूचीमा राखिएको थियो।

अस्ट्रेलियन ओपन गुमाउने किरयोस एक्लो स्टार होइनन्। यसअघि नै यो ग्रान्डस्लाम नखेल्ने भनेर कार्लोस अल्कारेज र नाओमी ओसाकाले घोषणा गरिसकेका थिए। अल्कारेज घाइते छन् भने जापानकी ओसाका गर्भवती छिन्।

यी नाम चलेका खेलाडी अनुपस्थित हुने भए पनि नौ पटकका च्याम्पियन नोभाक जोकोभिच भने मेलबर्न पार्क फर्किएका छन्। गत वर्ष अस्ट्रेलियाबाट डिपोर्ट भएका उनले मंगलबार पहिलो खेल खेल्ने तालिका छ।

सोमबार आआफ्ना खेल जितेका खेलाडीको सूचीमा स्टेफानोस सितसिपास, हुबर्ट हुर्काज र क्यामरुन नुरी रहे। त्यसैगरी फिलिक्स अगर एलियासिम पनि विजयी भए।

महिलातर्फ विजयी सुरुवात गरे पनि स्वाटेक आफ्नो स्वाभाविक लयमा थिइनन्। निएमेइरलाई ६–४, ७–५ ले पराजित गरेकी उनले आफ्नो प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरिनन्। ‘पहिलो खेल सधैँ कठिन नै हुन्छ। झन् निएमेइर जस्ती विपक्षीसँग खेल्नुपर्दा त दबाब हुन्छ नै। उनले बलियो सर्भ गर्छिन् भन्ने थाहा थियो। यसकारण आफूलाई तयार पार्ने प्रयास गरेको थिएँ,’ स्वाटेकले भनिन्।

पोल्यान्डकी स्वाटेक पहिलो अस्ट्रेलियन ओपन जित्ने लक्ष्यमा छिन्। गत वर्ष यो ग्रान्डस्लामको सेमिफाइनलसम्म पुगेकी स्वाटेकले यूएस ओपन र फ्रेन्च ओपन जितेकी थिइन्।

महिला एकलतर्फकै प्रतिस्पर्धामा पेगुलाले रोमानियाकी ज्याकलिन क्रिस्टियनमाथि ६–०, ६–१ को जित रचिन्। अमेरिकाकै गौफले दोस्रो चरण प्रवेश गर्न चेक गणतन्त्रकी काटेरिना सिनियोकोभालाई ६–१, ६–४ ले पन्छाइन्। अब १८ वर्षीय कौफको भेट पूर्वयूएस ओपन च्याम्पियन इम्मा राडुकानुसँग हुनेछ। महिला टेनिसमा उदाइरहेका यी दुई खेलाडी पहिलो पटक आमनेसामने हुन लागेका हुन्।

‘नढाँटी भन्दा म यो खेलका लागि उत्साहित छु। मलाई थाहा छ कोको कति कठिन विपक्षी हुनेछिन् भनेर। पछिल्लो समय उनको प्रदर्शन लोभलाग्दो छ,’ राडुकानुले भनेकी छन्, ‘हामी दुवै उमेरमा उस्ताउस्तै छौँ। नयाँ पुस्ताका हामी दुई भिड्दा दर्शकले रमाइलो मान्छन् जस्तो लाग्छ।’

गत वर्ष फाइनलमा पुगेकी अमेरिकी खेलाडी डानियल कोलिन्सले पनि दोस्रो चरणमा स्थानमा पक्का गरिन्। त्यसैगरी ग्रिसकी मारिया सक्कारी र भिक्टोरिया अजरेङ्काले पनि पहिलो चरणमा आआफ्ना खेलमा जित दर्ता गरे। मारी बौज्कोभा र अमान्डा आनिसिमोभाले भने हार व्यहोरे।

प्रकाशित: २ माघ २०७९ १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =