तरकारी खेतीमा रमाइरहेका बुढा दम्पती

हिमाल प्रेस २ माघ २०७९ १३:०७
6
SHARES
तरकारी खेतीमा रमाइरहेका बुढा दम्पती

सुर्खेत- बिहानै झिसमिसेमै पर्शुराम र श्रीमती धर्मा बुढा तरकारी बारीमा पुग्छन्। तरकारी बारीमा उम्रिएको झार उखेल्दै तरकारी गोडमेल गर्न बुढा दम्पतीलाई भ्याइनभ्याइ हुन्छ। बिक्रीका लागि योग्य भएको तरकारी टिपेर बजार लैजाने तयारी गर्छन्। बिक्री गर्न मिल्ने तरकारी टिपेर बोरामा राख्ने र खाना खाइसकेपछि तरकारी बिक्रीका लागि बजारतिर लाग्नु बुढा दम्पतीको दिनचर्या नै हो।

कति तरकारी व्यवसायीहरू त उनको बारीमै पुगेर तरकारी किनेर लैजान्छन्। सुर्खेत बराहताल गाउँपालिका–६ ब्युरेनीका बुढा दम्पती सात वर्षदेखि कृषि कर्ममा तल्लीन छन्। उनीहरूले व्यावसायिक तरकारी खेती सुरु गरेको सात वर्ष भयो। बुढा दम्पतीले परम्परागत खेती प्रणालीलाई परिमार्जन गरेर आधुनिक खेतीमा परिणत गरेका हुन्।

त्यसो त उनीहरूको पुख्र्यौली पेसा नै कृषि हो। बुबा–हजुरबुबाको परम्परागत खेती प्रणालीको फरक देखाउँदै बुढा दम्पतीले भने, ‘उहाँहरूले आफ्नो निर्वाहका लागि थोरै खेती गर्नुहुन्थ्यो। हामी आधुनिक तरिकाले धेरै खेती गरिरहेका छौँ। प्रविधिको उपयोग गर्दै खटिएका छौँ। पहिलाभन्दा धेरै राम्रो आम्दानी भइरहेको छ।’

आधुनिक तरकारी खेती गर्त थालेपछि तरकारी बारीमा हरियाली छाएको छ। आलु, काउली, साग, गोलभेँडा, धनियाँ, प्याज, भिण्डी, रायो, बन्दागोभीले तरकारी बारी मनमोहक पनि देखिन्छ। पर्शुरामले चार रोपनी जमिनमा तरकारी खेती गरेका छन्।

अन्य खेतीभन्दा तरकारी खेतीबाटै राम्रो आम्दानी भइरहेको उनले बताए। उनले मौसमअनुसारको तरकारी खेतीबाटै मेहेनतअनुसारको फल र आम्दानी पाउन सकेको बताए। उनी बारीबाट टिपेको ताजा र आलो तरकारी स्थानीय बजारका साथै प्रदेश राजधानी वीरेन्द्रनगरसम्म बिक्रीका लागि लैजाने गर्छन्।

बजार पुर्‍याएको तरकारी तुरुन्तै बिक्री भइहाल्छ। उनले तरकारी खेतीसँगै कुखुरापालन पनि गरेका छन्। तरकारी खेतीमा करिब एक लाख रुपैयाँ लगानी गरेका बुढा दम्पती एकाबिहानैदेखि साँझ अबेरसम्म तरकारी तथा कुखुरापालनमा नै व्यस्त हुन्छन्।

घरखर्च चलाउन झन्डै १० वर्ष भारतमा मजदुरी गरेका बुढा सात वर्षयता भने प्लास्टिकको टनेलमा तरकारी उत्पादन गरेर रमाइरहेका छन्।

तरकारी खेतीसँगै बुढा दम्पत्तीले कुखुरापालन व्यवसायलाई पनि सँगसँगै अघि बढाएका छन्। तरकारी खेतीका लागि मलको आवश्यकता पर्ने भएकाले कुखुरापालन व्यवसायलाई पनि सँगसँगै अघि बढाएको बुढा दम्पतीको भनाइ छ। उनीहरूको खोरमा ५०० ब्रोइलर कुखुरा छन्।

एक लाख ५० हजार रुपैयाँबाट सुरु गरेको कुखुरापालन व्यवसायले अहिले मासिक ५० हजार रुपैयाँ आम्दानी दिइरहेको बुढा दम्पती बताउँछन्। – रासस

प्रकाशित: २ माघ २०७९ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =