दल फेर्दै डुलिरहने प्रभुले बढाउलान् मधेशमा शक्ति?

हिमाल प्रेस ३० पुष २०७९ १४:०६
48
SHARES
दल फेर्दै डुलिरहने प्रभुले बढाउलान् मधेशमा शक्ति?

एमालेबाट राजनीति सुरु गरेका साह माओवादी हुँदै पुनः एमाले भए। हाल आफ्नै नेतृत्वमा आजपा गठन गरेका छन्। पार्टीलाई बलियो बनाउन साना पार्टीहरूसँग एकता गर्ने र ठूला पार्टीका असन्तुष्ट नेताहरूलाई पार्टी प्रवेश गराउने नीतिअनुसार अगाडि बढिरहेका छन्।

काठमाडौँ- आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ। प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादी पार्टीबीच एकताबद्ध हुने र नयाँ पार्टीको नाम आम जनता पार्टी नै राख्ने तय भएको आजपाका प्रचार-प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। उनका अनुसार अग्रगामी शक्तिहरूको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरूसँग एकताको अभियानमा आजपा लागेको हो।

४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका साहले चुनाव लगत्तै पार्टी गठन गरेका हुन्। एमालेको टिकट त्यागेर प्रतिनिधिसभा सदस्यको चुनाव जितेका प्रभु साहले पार्टी मात्रै खोलेन्। एमालेमा असन्तुष्ट पूर्व शहरी विकास राज्यमन्त्री एवम् काठमाडौ क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्य र प्रतिनिधि सदस्य रहिसकेका रामवीर मानन्धरलाई पार्टी प्रवेश गराए। साहले मधेश केन्द्रीत नेताहरूलाई पनि आर्कषित गरिरहेका छन्। आजपा गठन भएलगत्तै जनता समाजवादी पार्टीका रौतहट जिल्ला सचिव लखिन्द्र यादव, नेपाल संघीय समाजवादी पार्टीबाट रौतहट १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार जाजुल देवानलगायत आम जनता पार्टीमा प्रवेश गरे।

अर्थात, प्रभु साहले आफूलाई मधेशको नेताको रुपमा स्थापित गराउन चाहेको कतिपय नेताहरूको टिप्पणी छ। २०२८ साल असौज १३ गते रौतहट जिल्लाको मौलापुरमा जन्मेका प्रभु साहले माओवादीबाट राजनीति सुरु गरेका हुन् । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा एकता) सर्वोच्च अदालतले खारेज गरिदिए पछि उनी एमाले ओली पक्षतिर लागे।

उनी ओली मन्त्रीपरिषद्‌मा नेपाल सरकारको शहरी विकास मन्त्री पनि बने। त्यस अगाडि रौतहट क्षेत्र नं. ३ बाट २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए। साह २०६८ मा झलनाथ खनालको मन्त्रिपरिषदमा कानुन मन्त्री थिए, २०७४ मा शेरबहादुर देउवा मन्त्रिपरिषद् शहरी विकास मन्त्री र भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्री थिए।

२०५४ सालको स्थानीय निर्वाचनमा रौतहटको पतौरा गाविसमा वडाध्यक्षमा निर्वाचित भएका थिए। साविकको पतौरा गाविस उपाध्यक्ष सत्यनारायण राउतलाई २०५७ सालमा तत्कालीन जिविस सभापति राजेन्द्र पटेलको निवासमा कार्यवाहक अध्यक्ष बनाउन उनी हातपातसमेत उत्रिएको स्थानीय नेताहरू बताउँछन्। उनी २०५७ सालमा माओवादी प्रवेश गरेका थिए।

भूमिगत माओवादी पार्टीले उनलाई मधेशी मुक्ति मोर्चामा संगठित गरेर तराईमा खटाएको थियो। मधेशका माओवादी नेता मातृका यादव र साहबीच लामो समयसम्म सम्बन्ध कायम रहन सकेन। दुवैबीच टकराव बढ्दै गयो। साह माओवादीभित्रको बाबुराम गुटमा सामेल भए।

माओवादीहरूको गुटबन्दीमा साह कमजोर बन्दै गएर पार्टी छोड्ने वा छुट्टै पार्टी खोल्ने विकल्प बारेमा सोच्दै थिए। ठीक त्यसैबेला एमाले र माओवादी मिलेर नेकपा बन्यो। नेकपा एकता भंग भएपछि एमालेमै बसे। एमालेमा केही समय प्रदेश अध्यक्ष भएर प्रदेश सचिव सुमन प्याकुरेलको सहयोगमा उनले पार्टी चलाए। मधेश प्रदेशमा रघुवीर महासेठको प्रवेशपछि उनीसँग साहको टकराव बढ्न थाल्यो। त्यसपछि साह अध्यक्षबाट हटाइए र ज्वाला साहले अध्यक्षको जिम्मेवारी पाइन्।

त्यसपछि दुईजनाबीच टक्कर झन् बढ्दै गयो। साह प्रदेश इन्चार्ज भएर पार्टी कब्जा गर्न चाहन्थे। तर पार्टीको दशौं महाधिवेशनपछि रघुवीर महासेठ पार्टी सचिव र इन्चार्जसमेत बनाइए। सोही कारण उनले विधान महाधिवेशन बहिष्कार गरे । केन्द्रीय कमिटी बैठक र धेरैपटक प्रदेश कमिटी बैठकसमेत बहिष्कार गरे। चुनावसम्म पुग्दा एमालेले दिएको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदारी दिए। चुनाव जिते। अहिले पार्टी बनाएर पार्टी विस्तारमा लागेका छन्।

प्रकाशित: ३० पुष २०७९ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =