अपांगताले रोकेन उद्योगी बन्‍ने सपना

हिमाल प्रेस ३० पुष २०७९ १०:५५
4
SHARES
अपांगताले रोकेन उद्योगी बन्‍ने सपना

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपांग भए।

डेढ दशक भारतमा मजदुरी गर्दै आएका धामीले सडक दुर्घटनामा परी अपांगता जीवन बिताउनुपरेको पीडालाई भुलेर अहिले गाउँमै विभिन्न प्रकारका मसला उत्पादन गर्ने ‘सुदूरपश्चिम मसला उद्योग’ सञ्चालनमा ल्याएका छन्।

उनले सुरुमा २० लाख रुपैयाँ लगानीमा सुदूरपश्चिम मसला उद्योग सञ्चालनमा ल्याए। ‘भारतमा मजदुरी गरेर घरखर्च चलाइराखेको थिएँ, दुर्घटनामा परेर यस्तो जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो,’ धामीले दुखेसो गरे, ‘तैपनि हरेस नखाएर परिवारको खर्च टार्न उद्योग सञ्चालनमा ल्याएको छु।’

उनले बैंकबाट ऋण लिएर उद्योग सञ्चालन गरेका हुन्। स्वदेशमै उद्योग सञ्चालनमा ल्याए पनि भारतीय मसलाका कारण बजारमा प्रतिस्पर्धा गर्न निकै चुनौती रहेको बताइएको छ। ‘भारतबाट मिसावटका मसलाहरूले यहाँको बजार प्रभावित गरेको छ’, धामीले भने, ‘व्यापारी तथा उपभोक्ताले गुणस्तरको स्वदेशी मसला उपभोग गर्नुभन्दा सस्तो हेर्ने गरेका छन्।’ सुरुआती अवस्थामा निकै संघर्ष गर्नुपरेको अनुभव उनीसँग छ।

शारीरिकरूपमा अशक्त भए पनि उनी बजारमा तीन पांग्रे स्कुटर लिएर आफैँ निस्किन्छन्। ‘अरूको देशमा कति दुःख गर्ने आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्यले उद्योग चलाएको हुँ’, धामीले भने, ‘यहाँ स्थानीय उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न धेरै चुनौती छ।’

आफू अशक्त हुँदा शारीरिकरूपले उद्योगमा काम गर्न असहज हुँदा पनि नियमित काम गरिरहेको उनले बताए। भारतमा मसला उद्योगमा काम गरेकोे अनुभवले काम गरिरहेको धामीले सुनाए। सुदूरपश्चिम मसला उद्योगबाट बेसार, खुर्सानी, जिरा धनियाँ, मिटा, सब्जी, गरम, चिकन मसला, काली मिर्च, चिया, राइता एन्ड लस्सी र मिक्स मसला उत्पादन भइरहेका छन्।

‘भारतीय मसला सस्तो मूल्यमा पाइन्छन् भन्ने भ्रम उपभोक्तामा छ’, उनले भने, ‘स्थानीय उत्पादन गुणस्तरका हिसाबले निकै उपयुक्त छ, स्वाथ्यका लागि पनि फाइदाजनक छ हाम्रो उत्पादनमा मिसावट छैन।’ त्यहाँ मसला उत्पादनको लागि सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेलधुराबाट कच्चा पदार्थ ल्याइन्छ । उद्योगमा चार जनाले रोजगारी पाएका छन्।

‘यसैबाट घरखर्च चलेको छ’, उनले भने, ‘सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने भनेपनि हालसम्म सहयोग पाएको छैन।’ दुईवटा छोराछोरीको पढाइ र घरपरिवारको खर्च उद्योगकै कामबाट चलेको छ।

‘आफूसँग लगानी नभएका कारण उद्योगलाई थप विस्तार गर्न सकेको छैन’, उनले भने, ‘अहिले शुरुको ऋण तिर्न सकिएको छैन पछि लगानी भयो भने थप विस्तार गर्छु।’ उद्योग सञ्चालनका लागि सरकारी निकायबाट कुनै सहयोग नपाएको धामीको गुनासो छ। स्थानीयस्तरमै आयमूलक काममा लाग्नेलाई प्रोत्साहनस्वरूप विभिन्न सीपमूलक तालिम प्रशिक्षण र सुरुमा सर्तसहित लगानीको व्यवस्था सरकारी पक्षबाट गर्नुपर्ने उनको सुझाव छ।

प्रकाशित: ३० पुष २०७९ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =