सडक खन्‍ने निकायहरूबीच प्रत्येक १५ दिनमा बैठक राख्‍न भौतिकमन्त्री श्रेष्ठको निर्देशन

हिमाल प्रेस २८ पुष २०७९ २१:०२
192
SHARES
सडक खन्‍ने निकायहरूबीच प्रत्येक १५ दिनमा बैठक राख्‍न भौतिकमन्त्री श्रेष्ठको निर्देशन फाइल तस्बिर।

काठमाडौँ– उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा हाल खराब अवस्थामा रहेको सडक जुन निकायले बिगारेको हो उसैले १५ दिनभित्र मर्मत गरिसक्न निर्देशन दिएका छन्।

बिहीबार मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार संस्थान, मेलम्ची खानेपानी विकास समितिलगायत सेवा प्रदायक संस्थाका प्रमुख र प्रतिनिधिसँगको बैठकमा उनले सम्बन्धित निकाय प्रमुखलाई उक्त निर्देशन दिएका हुन्।

पूर्वाधार निर्माण गर्दा तत्कालको समस्या समाधान गरेर भविष्यमा समस्या दोहोरिन नदिन सबै निकायबीच समन्वय गर्नमा उनले सुझाव दिए। कुनै पनि निकायले काम गर्दा सडक भत्केमा सडक विभागको गुणस्तरअनुसार आफैँले मर्मत गर्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।

उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाको सडक राम्रो बनाउन र नागरिकलाई सजिलो बनाउन एकले अर्कालाई दोष दिनुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए। सबै निकायले एकीकृत रूपमा योजना बनाएर पूर्ण गतिमा काम गर्न लाग्नुपर्ने उनले बताए। ‘कहिले कुन कहिले कुन निकायले भत्काउँदा जनता निरासा भएका छन्, त्यसको समाधान गर्नेगरी लाग्नुपर्छ,’ उनले भने।

उपत्यकाका सडकमा संरचना रहेका सबै निकायका प्रतिनिधिको बैठक महिनामा दुई पटक बस्न पनि उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए। प्रत्येक महिनाको दोस्रो शुक्रबार र अन्तिम शुक्रबार २ बजे बैठक बस्ने तय भएको र पहिलो बैठक सडक विभागमा बस्ने निर्णय भएको छ। उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी स्थलगत अवलोकनका लागि सबै सरोकारवाला निकायका प्रतिनिधि शुक्रबार भैँसेपाटी जम्मा भएर विभिन्न स्थानमा पुग्ने भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =