माघे संक्रान्तिका लागि तराईदेखि पहाडसम्मका तरुल कालीमाटी बजारमा

हिमाल प्रेस २८ पुष २०७९ १५:१७
10
SHARES
माघे संक्रान्तिका लागि तराईदेखि पहाडसम्मका तरुल कालीमाटी बजारमा

काठमाडौँ– माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ।

तरुलको मूल्यमा विगतका वर्षहरूभन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछापलगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूको भनाइ छ।

कालीमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्ण पोखरेलले तरुल माघेसंक्रान्तिमा मात्रै पाउने सिजन भएकाले पनि संक्रान्तिको अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफा घाटाबारे भन्न सकिने बताए। मानिसहरू कत्तिको किन्न आउँछन् भन्ने कुराले नै मूल्य बढ्ने वा घट्ने भन्नेबारे थाहा हुने उनले बताए।

अहिले कालीमाटी बजारमा सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटलगायतका जिल्लाहरूबाट तरुलहरू धेरै आइरहेको उनले बताए।

‘माघेसंक्रान्तिको बेलामा मात्रै हुने भएकाले यो नाफा घाटाको कुरा कत्तिको किन्न आउनुहुन्छ भन्ने हेरेर थाहा हुन्छ। सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटबाट आउँछन्,’ पोखरेलले बताए।

यस्तै कालीमाटी तरकारी तथा फलफूल बजारमा नै काँक्रोको व्यापार गर्दै आएकी अप्सरा सिलवाल भने अरूबेला काँक्रो मात्रै व्यापार गर्ने भए पनि यस पटक भने सिजन रहेकाले तरुल मगाएर व्यापार गरेको बताउँछन्। माघे संक्रान्तिका लागि आफूले नवलपरासीबाट २ गाडी तरुल ल्याएको उनले बताइन्।

जाडोमा गर्मी बढाउने अर्थात शरीरलाई तातो बनाउनका लागि पनि यतिबेला बजारमा चाकुको व्यापार बढ्ने गर्छ। चाकु पनि गत वर्षको मूल्यमा नै बिक्री भइरहेको व्यापारीहरू बताउँछन्। माघेसंक्रान्तिको अवसरमा नेपाली समाजमा तरुल, चाकु, तिलौरालगायत खाएर हर्षोल्लाससहित माघेसंक्रान्ति पर्व मनाउने गरिन्छ।

प्रकाशित: २८ पुष २०७९ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =