प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतले गरे शिष्टाचार भेट

हिमाल प्रेस २८ पुष २०७९ १३:५३
6
SHARES
प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतले गरे शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले शिष्टाचार भेट गरेका छन्। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगत झैँ अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कूटनीतिक सम्बन्ध रहने बताउँदै यसलाई आफूले ‘प्रो-नेपाल पोलिसी’को नाम दिएको बताए।

भेटमा उनले नयाँ सरकार शान्ति प्रक्रियाको पूर्णता, दिगो आर्थिक विकास र सामाजिक सुरक्षा लागू गर्न प्रभावकारी रूपमा लागिपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा राजदूत प्रिन्सले संसद्बाट झण्डै शतप्रतिशत मतका साथ विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिएका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको सहयोग पूर्ण रहने पनि राजदूत प्रिन्सले बताएका थिए।

प्रकाशित: २८ पुष २०७९ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =