नजिकबाट मुख्यमन्त्री खगराज अधिकारी

विजय नेपाल २५ पुष २०७९ १८:२०
6
SHARES
नजिकबाट मुख्यमन्त्री खगराज अधिकारी

पोखरा– २०३२ सालमा नेकपा एमालेको सदस्यता लिएसँगै सक्रिय राजनीतिका रहेका खगराज अधिकारी लामो समय भूमिगत राजनीतिक जीवन बिताएका छन्। २०३६ सालमा विद्यार्थी आन्दोलनका अगुवाइ गरेका उनी २ पटकसम्म पृथ्वीनारायण क्याम्पसको स्ववियुसभापति बने। स्ववियुसभापतिलाई राजनीतिको टर्निङ प्वाइन्ट मान्छन्।

नेपालीमा स्नातकोत्तर गरेका उनको जन्म २०१८ सालमा कास्कीको वेगनासमा भएको हो। सादा राजनीतिक जीवन, कार्यकर्तामा अत्यन्तै सरल रूपमा प्रस्तुत हुने उनलाई कार्यकर्ताहरू विकासप्रेमी नेताको रूपमा लिने गर्दछन्।

पञ्चायतविरुद्धको आन्दोलनका अग्रमोर्चामा रहेर नेतृत्व गरेका अधिकारीले ५ वर्ष जेल जीवन बिताएका छन्। अधिकारी २०४६ सालमा नेकपा एमाले कास्कीको सचिव र २०५० देखी ५३ सम्म पार्टी अध्यक्षको जिम्मेवारीमा थिए।

एमालेको आठौं महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्य र पोलिटव्युरो सदस्यसमेत बने। नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा १ मतले मात्रै पराजित उनी एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य बनेका थिए।

तत्कालीन गण्डकी अञ्चल कमिटीको सचिव हुँदै संयोजक बनेका अधिकारी पहिलोपटक २०५१ सालमा कांग्रेसका प्रभावशाली नेता तारानाथ रानाभाटलाई हराउँदै कास्की क्षेत्र १ बाट निर्वाचित भई प्रतिनिधिसभा सांसद बनेका थिए। त्यससमय तत्कालीन एमाले संसदीय दलका नेता रहेका मनमोहन अधिकारीले उनलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए। उनी ०५६ र ०६४ सालको निर्वाचनमा उम्मेदवार बने पनि पराजित भए।

०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री बनेका अधिकारीले नेपालमै पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थिए। आफ्नो कार्यकालमा स्वास्थ्य मन्त्रालयको वेथिति चिर्न सफल बनेका उनी सफल स्वास्थ्यमन्त्रीको रूपमा परिचित छन्।

नेपालको संविधान जारी भइसकेपछि २०७३ सालको प्रतिनिधिसभामा कास्की १ बाट करिब १४ हजार मतान्तरले निर्वाचित अधिकारी एमालेको संसदीय दलको प्रमुख सचेतक बनेका थिए।

केपी ओली प्रधानमन्त्रीको पालामा उनी २ साताको लागिमा मात्र गृहमन्त्री नियुक्त भएका थिए। गएको ४ मंसिरको चुनावमा उनी कास्की क्षेत्र १(१) मा प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मुख्यमन्त्रीको बाटो खोलेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =