पहिलो बैठकमै ओली र प्रचण्डबीच विग्रहको बीजारोपन भयो : गगन थापा

हिमाल प्रेस २५ पुष २०७९ १६:४६
26
SHARES
पहिलो बैठकमै ओली र प्रचण्डबीच विग्रहको बीजारोपन भयो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतीको विषय भएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशंका व्यक्त गरेका हुन्।

उनले निर्वाचनको समय र त्यसपछि फरक-फरक गठबन्धन हुनु पनि सरकारमाथि चुनौती रहेको बताए।

‘यो निर्वाचन प्रणालीबाट जस्तो खालको संसद् बन्यो। योभन्दा अघिल्लो पटक पनि हामीले निर्वाचनभन्दा अगाडि गठबन्धन गरेर गइसकेपछि संसद्‌‌भित्रको त्यो गठबन्धनलाई उहाँहरुले जोगाउन नसकेको कुराको साक्षी बसेर आएको हो,’ उनले भने, ‘अहिले त झन निर्वाचनभन्दा अगाडि एउटा गठबन्धन, निर्वाचनलगत्तै अर्को गठबन्धन बनेर यो संसद्को यात्रा प्रारम्भ भएको छ। सरकारमा बसिरहेको दल एक ठाउँ टिकीराखेर बस्ने कुरा नै, सरकारको स्थिरताको कुरा नै एकदमै धेरै ठूलो चुनौतिको रुपमा लिएको छु। तर यो निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछाडी सरकारहरु यसरी बन्छन्। बदलिन्छन् भन्ने कुरालाई सामान्य रुपमा स्वीकार गर्नुपर्‍यो।’

महामन्त्री थापाले संसद्को पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधनले दुई नेताबीच विग्रहको बीजारोपण भएको टिप्पणी गरे।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको प्रधानमन्त्रीलाई एउटा अवस्थामा भने बडो अप्ठ्यारोमा पार्नु भएको मैले याद गरेँ। प्रतिनिधि सभा विघटन गरेको कुरा सोह्रैआना सत्य थियो। त्यो जनताको पक्षमा थियो,’ उनले भने, ‘त्यसलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन भन्दैगर्दा हालका प्रधानमन्त्रीले टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा परेको देख्दा मलाई अलिकति सहानुभूति प्रकट गर्न मन लाग्यो। यो हेर्दा सामान्य अलमल देखिए पनि यसलाई मैले सामान्य अलमल मानेको छैन।’

आजको बैठकको सम्बोधन यसअघि दुई नेताको विग्रहको कारक भएको भन्दै उनले देख्दा सामान्य देखिए पनि जटिल विषय भएको बताए।

‘यो विषयको बीजारोपण आज फेरि भयो। यो नै उहाँहरू बीचको बिग्रहको कारक बन्छ। किनकी यो विषय हेर्दा सामान्य देखिए पनि नेपालको संविधानलाई कसरी लिने, संवैधानिक व्यवस्थालाई कसरी लिने भन्ने मुलभुत विषयहरू हुन्,’ उनले थपे, ‘यी विषय केही पनि होइनन् भन्ने हो भने अघिल्लो पटक संसद विघटन किन भयो? यसको उत्तर के हो?’

प्रकाशित: २५ पुष २०७९ १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =