शिक्षक अभाव हुँदा एउटै कक्षामा पढ्छन् डेढ सय विद्यार्थी

हिमाल प्रेस २४ पुष २०७९ १९:०८
36
SHARES
शिक्षक अभाव हुँदा एउटै कक्षामा पढ्छन् डेढ सय विद्यार्थी

काठमाडौँ- शिक्षक अभाव हुँदा सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीस्थित जनता आधारभूत विद्यालयमा ३ वटा कक्षाका विद्यार्थी एउटै कक्षामा पढ्न बाध्य भएका छन्। दुई जना शिक्षकले कक्षा ३ देखि ८ सम्म पढाउनुपर्ने भएपछि ३, ४, ५ कक्षालाई एउटामा र ६, ७, ८ का विद्यार्थीलाई एउटा कक्षामा पढ्न बाध्य भएका हुन्।

नेपाल भारत सीमानजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना भए पनि शिक्षक व्यवस्थापन हुन नसक्दा बालविकास तर्फका ४० जना र कक्षा १ देखि ८ सम्मका २६९ विद्यार्थीको पढाई प्रभावित हुन पुगेको छ।

विद्यालयमा दुई बालविकास सहयोगी तथा एक कार्यालय सहयोगी रहेको र डेढ सय विद्यार्थी एउटै ठाउँमा राखेर पठाउनु परिरहेको प्रधानाध्यापक नेतीलाल यादवले बताए। ‘शिक्षक अभावले बालविकास कक्षाका साथै कक्षा १ र २ लाई एउटै ठाउँमा राखेर पढाउनु परेको छ। यस्तै कक्षा ३, ४ र ५ तथा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई पनि एउटै ठाउँमा राखेर कक्षा सञ्चालन गरेका छौँ।यसरी कक्षा सञ्चालन गर्दा शिक्षक विद्यार्थी दुवैलाई असहज भएको छ,’ उनले भने।

विद्यालयको कक्षा ६ मा ४०, कक्षा सातमा ५७ तथा कक्षा आठमा ५४ विद्यार्थी अध्ययनरत छन्।विद्यालयमा निमावि राहततर्फ एउटा तथा प्राथमिक तहमा दुई स्थायी दरबन्दी रिक्त छ। विद्यालयको समस्याप्रति गाउँपालिका शिक्षा शाखा भने अनविज्ञ छ। शाखा प्रमुख दिनेशकुमार मण्डलले यसबारे विद्यालय, गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई जानकारी हुनसक्ने बताए।

विद्यालयमा कक्षा सातमा अध्ययनरत रञ्जना मण्डलले ४ बजेसम्म पनि पठनपाठन नहुने बताइन्।‘दुई बजेपछि विद्यालयमा खासै पढाइ हुँदैन, त्यत्तिक्कै बसेर के गर्नु?,’ उनले भनिन्।

बालविकास कक्षा सहयोगी निलमकुमारी रामले पनि एउटै ठाउँमा धेरै विद्यार्थी राखेर पढाउँदा पठनपाठन प्रभावकारी नभएको बताउँछिन्।‘शिक्षक अभावले तीन कक्षाका विद्यार्थी एउटै ठाउँमा राख्नुपर्ने बाध्यता छ, विद्यार्थीलाई सम्हाल्नै मुस्किल हुन्छ।’

विद्यालय व्यवस्थापन समितिका सदस्य ओमप्रकाश यादवले दरबन्दी अनुसारको शिक्षक नआउँदासम्म समस्या भइरहने बताए। बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव चाँडै दुई शिक्षक नीजि श्रोतमा राखेर भए पनि समस्या समाधान गर्ने बताउँछन्।

‘विद्यालयमा शिक्षक मात्र होइन फर्निचरसमेत अभाव छ।सबै विद्यार्थीलाई बस्न बेन्च पनि छैन,’ उनले भने।

प्रदेश सामाजिक विकास मन्त्रलयअन्तर्गतको सामाजिक विकास एकाइको सहयोगमा २५ लाखको लागतमा हालै दुईकोठे पक्की भवन निर्माण कार्य सुरु भएको छ। ५० लाखको लागतमा चारकोठे भवन निर्माण पनि सुरु गरिने प्रअ यादवले जानकारी दिए। -राससको सहयोगमा

प्रकाशित: २४ पुष २०७९ १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =