अब किताबखाना पेन्सनपट्टाको काम अनलाइनबाटै

हिमाल प्रेस २४ पुष २०७९ १०:०४
48
SHARES
अब किताबखाना पेन्सनपट्टाको काम अनलाइनबाटै

काठमाडौँ- राष्ट्रिय किताबखानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई–पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ। ललितपुरबाट एक महिनाअघि प्रारम्भिक परीक्षण गरिएको उक्त सेवा अहिले दुर्गम जिल्लाबाट पनि पेन्सनपट्टाका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

सूचना प्रविधिप्रतिको बढ्दो आकर्षण र सेवालाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने सिलसिलामा ई–पेन्सनको अवधारणा अघि सारिएको किताबखानाका निमित्त महानिर्देशक संगीता ओझाले जानकारी दिइन्।

उक्त अवधारणाले पेन्सनपट्टाका लागि दूरदराजबाट राजधानी आएर अनेकथरि कागजात संकलन गर्नुपर्ने झन्झट अन्त्य गर्नेछ। किताबखानाले निजामती, शिक्षक र प्रहरीको नियुक्तिदेखि अवकाश हुँदासम्मको सम्पूर्ण अभिलेख राख्दै आएको छ। निजामती सेवा ऐन तथा नियमावलीले २० वर्ष बढी सेवावधि पूरा गरेकालाई पेन्सन तथा त्योभन्दा कम अवधि हुनेलाई उपदान पाउने व्यवस्था गरेको छ।

किताबखानाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन हजार सात सय ८५ कर्मचारीले निवृत्तिभरण लिएका थिए। हालसम्म ८८ हजार निजामतीतर्फका कर्मचारी सेवानिवृत्त भएको अभिलेखबाट देखिन्छ। राष्ट्रिय किताबखाना मुलुकको शासनको स्थायी सरकारको रूपमा रहेको सार्वजनिक प्रशासनअन्तर्गतका पदाधिकारीको अभिलेख व्यवस्थापन गर्ने यो महत्त्वपूर्ण निकाय हो। उक्त कार्यालय मातहत निजामती कर्मचारी, शिक्षक र प्रहरी कर्मचारीको समेत अभिलेख व्यवस्थापन हुँदै आएको छ।

किताबखानाका सूचना अधिकारी प्रकाशजंग कार्कीले मुलुकका सबै जिल्लामा सेवानिवृत्त हुने कर्मचारीबाट पेन्सनपट्टाका लागि अनलाइनमार्फत आवेदन लिने प्रक्रिया शुक्रबारदेखि सुरु भएको जानकारी दिए। सेवानिवृत्त हुन लागेका कर्मचारीलाई पेन्सनपट्टा बनाउँदा के–कति कस्ता कागजात चाहिन्छ भनेर पहिले नै सूचना पठाइने र त्यसका आधारमा आफू रहे बसेकै स्थानबाट प्रविधिको माध्यमद्वारा अनलाइनमार्फत ती कागजात उपलब्ध गराउन सकिने छ।

उक्त सेवा विस्तार गर्ने सिलसिलामा किताबखानाले पहिलो चरणमा मंसिर १५ देखि नै अनलाइन निवेदन सुरु गरेको थियो। उक्त अवधारणा अभ्यासमा आएसँगै अनलाइनमार्फत सम्पूर्ण कागजात पहिले नै तयार हुने भएकाले सम्बन्धित व्यक्तिको तस्बिर, औठाछाप, कार्यालयको छाप र लिन/पाउने सुविधा यकिन भएसँगै सम्पूर्ण काम छिनभरमै हुनेछ। तर कतिपयमा सूचना प्रविधिप्रति विश्वास र विश्वस्त नभएका कारण परम्परागत र ई–पेन्सन दुवै प्रक्रिया अभ्यासमा कायम रहने निमित्त महानिर्देशक ओझाले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =