कांग्रेसको अनिर्णयका कारण वामलोकतान्त्रिक गठबन्धन टुट्यो : माधव नेपाल

हिमाल प्रेस २३ पुष २०७९ १५:५२
8
SHARES
कांग्रेसको अनिर्णयका कारण वामलोकतान्त्रिक गठबन्धन टुट्यो : माधव नेपाल फाइल तस्बिर।

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वामलोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन्।

शनिबार काठमाडौँमा पार्टीनिकट नेवा राष्ट्रिय संघको अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले निर्णय गर्न नसकेका कारण नयाँ परिस्थिति विकास भएको उनको भनाइ छ।

संवैधानिक तथा राजकीय पद बाँडफाँडमा कांग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्त्व नदिएर सबैमा दाबी गर्ने गैरराजनीतिक चरित्र प्रस्तुत गरेको उल्लेख गर्दै केही नेताको अहंकारले नयाँ ध्रुवीकरण भएको विचार व्यक्त गरे।

अध्यक्ष नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर संगठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए।

‘सरकारको साझा नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र पार्टीले विश्वासको मत दिने वा समर्थन नगर्ने विषयमा निर्णय गर्नेछ,’ अध्यक्ष नेपालले भने।

पार्टीका जनवर्गीय संगठन, स्थायी कमिटी र पोलिटब्यूरो बैठकबाट अहिले सरकारमा नजान र संगठन निर्माणमा केन्द्रित हुन सुझाव आएको उनको भनाइ थियो । उनले छरिएर रहेका वाम शक्तिलाई एकताबद्ध गरी बलियो कम्युनिष्ट शक्तिको खाँचो रहेकाले त्यसको निर्माणका लागि केही दलसँग छलफल भइरहेको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seventeen =