गृहमन्त्री लामिछानेले गरे अगुवापछुवा गाडी हटाएको घोषणा

हिमाल प्रेस २२ पुष २०७९ २०:४८
16
SHARES
गृहमन्त्री लामिछानेले गरे अगुवापछुवा गाडी हटाएको घोषणा

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले अगुवापछुवा गाडी हटाएर एउटा मात्रै राख्ने घोषणा गरेका छन्। गृहमन्त्री लामिछानेले आफ्नो नियुक्ति लगत्तै सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेको जनाएका छन्।

उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवापछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु। भैपरी आउँदाको परिस्थितिलाई अपवाद मानिदिनु होला।’

सडक नियमको पूर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागू गराउने निकायको नेतृत्व गर्ने भएकाले आफू पनि सधैँ ट्राफिक बत्तीमा लाइन बसेर यात्रा गर्ने उनले बताएका छन्। लामिछानेले भनेका छन्, ‘सडक लेन अनुशासन पूर्णपालना गर्ने गराउने कुरामा प्रतिबद्ध छु। कुनै अकाट्य परिस्थिति आइपर्दाबाहेक म आफ्नो कार्यकालभरि नै यी नियम पालना गर्छु।’

उनले आफ्नो यात्रामा साइरन नबजाउने पनि स्पष्ट पारेका छन्। गृहमन्त्री लामिछानेले भनेका छन्, ‘साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको म सधैँ आलोचक हुँ। आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन।’

यसैगरी व्यक्तिगत कामका लागि कतै जानुपरेमा वा बिदाका दिनमा आफ्नै सवारीसाधन प्रयोग गर्ने घोषणा पनि उनले गरेका छन्। कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नुपरेमा त्यसको हिसाब राज्यलाई बुझाउने प्रतिबद्धता उनको छ।

उनले नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्ने निकायको नेतृत्वमा रहँदा आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा नहुने स्पष्ट पारेका छन्। ‘म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ। म आफूले बोलेका कुरा इमानदारीका साथ पूरा गर्नेछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 5 =