चरनक्षेत्र र आहारा अभावले दार्चुलामा लोप हुन थाले भैँसी

हिमाल प्रेस २२ पुष २०७९ १७:५७
8
SHARES
चरनक्षेत्र र आहारा अभावले दार्चुलामा लोप हुन थाले भैँसी फाइल तस्बिर।

खलंगा– सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय भैँसी लोप हुँदै गएका छन्। कुनैबेला दार्चुलाका गाउँघरमा व्यावसायिक रूपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन्।

केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि २ देखि ३ भैँसी हुन्थे तर अहिले आएर तिनै गाउँमा भैँसी पाइन छाडेको छ। भैँसी दूध, दही, मही र मल उत्पादनका लागि राम्रो मानिए पनि पछिल्लो समयमा किसानले भैँसी पाल्न छाड्दा खेतबारीमा प्रयोग गरिने मलको अभावमा अन्नबाली उत्पादनमा समेत कमी आउन थालेको छ।

भैँसीपालनका लागि धेरै परिश्रम चाहिने भएकाले यसप्रति किसानको आकर्षण घट्दै गएको शैल्यशिखर नगरपालिका-५ का मदनसिंह रावलको भनाइ छ। दार्चुलाका अधिकांश किसानले भैँसी नै पाल्न छाड्नुको विशेष कारण खरी रोग पनि रहेको छ। ०५३ देखि दार्चुलामा देखापरेको खरी रोगका कारण स्थानीय जातको भैँसी लोप हुने स्थितिमा पुगेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत रामबहादुर खड्का बताउँछन्।

विशेषगरी दार्चुलामा कहीँकतै भैँसीपालन गरेको देखिए पनि भैँसी एकचोटी ब्याएपछि दोस्रो वर्ष किसानले प्रति भैँसीको २५ देखि ३० हजार मूल्य पाउनेहुँदा मासुका लागि धनगढी पठाउने गरेका छन्।

बर्सेनि यहाँबाट एक हजार ५ सयसम्म मासु प्रयोजनका लागि व्यापारीले धनगढी लग्ने गरेकाले पनि भैँसी लोप हुन लागेको शैल्यशिखरका पशुसेवा शाखा प्रमुख मुन्नी धामीले बताए।

खरी रोगको उप ४ लामो समयसम्म गर्नुपर्ने भएकाले किसान दिक्क भएर भैँसी धनगढी पठाउने बाध्यता रहेको मालिकार्जुन-३ का अकबरसिंह धामीले बताए। भैँसीपालनमा बढी मेहनत गर्नुपर्ने भएका कारण धेरैजसो किसान जर्सी गाईपालनमा आकर्षित भएका छन्। जर्सी गाईले दिनमा ३पटक गरी कम्तीमा पनि दैनिक ८देखि १० लिटर दूध दिने गर्दछ।

भारतको बालुवा कोट, कालिका, छारछुम, डिडीहाटबाट किसानले जर्सी गाई ल्याएर व्यावसायिक रूपमा जर्सीपालन गर्ने गरेका छन्। महाकाली नगरपालिका-९ बेतका ललित भट्टले व्यावसायिक रूपमा भैँसीपालन गर्दा सफल नभएको र अहिले आएर व्यावसायिक रूपमा घरमा ८ वटा जर्सी गाईपालन गरी मासिक ८० हजारदेखि १ लाखसम्म आम्दानी हुने गरेको बताए।

भैँसीपालनका लागि प्रशस्त चरन तथा आहारा अभाव र खरी रोगले पनि भैँसीपालन व्यवसाय संकटमा परेको किसान गोपाल खत्री बताउँछन्। उनका अनुसार गाउँगाउँबाट व्यापारीले भैँसी तराईतिर बिक्री लैजान थालेपछि गाउँमा भैँसी पाइन छाडेको बताए। गाउँमा पुगेर सानो पाडादेखि, थार भैँसी मासु प्रयोजनका लागि तराईतिर लैजान थालेपछि भैँसी व्यवसाय संकटमा परेको महाकाली-९ का वडाध्यक्ष गजेन्द्र कार्कीले बताए।

भैँसीपालन व्यवसायबाटै गुजरा गरिरहेका पनि पछिल्लो समयमा अरू नै पेसा अपनाउन थालेका छन्। यहाँका किसानले कुनैबेला परिवारका लागि लुगाफाटो किन्नुपर्दा अथवा चाडपर्व मनाउने सवालमा पनि भैँसीको घिउ बेचेर घर खर्च चलाउने गर्दथे। पछिल्लो समय भैँसीपालन छाडेर किसान अन्य पेसातर्फ आबद्ध भएका देखिन्छन्।

कुनैबेला भैँसीको घिउ ३ सयमा पाइन्थ्यो तर, पछिल्लो समयमा भैँसीपालनमा किसानको आकर्षण घटेपछि प्रतिकिलो ९ सयमा खरिद गर्नुपरेको देवथलीका स्थानीय मनिराज जोशीले बताए।

भैँसीपालन व्यवसायलाई प्रवर्द्धन गर्न स्थानीय सरकारबाट कुनै पहल नहुँदा व्यवसाय संकटमा परेको स्थानीयको गुनासो छ। भैँसी नै लोप हुने अवस्थामा पुगेपछि दार्चुलाका स्थानीय तहले किसानका लागि आर्थिक सहयोग कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने किसानको माग छ। पशुसेवाका कार्यक्रम स्थानीय तहमा भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ।

प्रकाशित: २२ पुष २०७९ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =