एमालेसँग एकताबारे माधव नेपालले भने- नजाने गाउँको बाटै नसोध्‍नू

'विचार मिल्नेहरूसँग एकताका लागि प्रयासरत छौं'

हिमाल प्रेस २२ पुष २०७९ १७:२१
4
SHARES
एमालेसँग एकताबारे माधव नेपालले भने- नजाने गाउँको बाटै नसोध्‍नू फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले कम्युनिस्ट पार्टीहरूबीच एकता गर्न आफूहरू सक्रिय रहेको बताएका छन्। शुक्रबार नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन्।

कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सुदृढीकरण अभियानमा आफूहरू रहेको बताउँदै उनले यस अभियानमा इच्छुक रहेकाहरूसँग हातेमालो गर्ने भनाइ राखे।

सरकारलाई समर्थन गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे पार्टीका सबै नेता र सबै पक्षहरू विश्लेषण गरेर निर्णय गर्ने उनले बताए।

‘व्यक्तिगत रूपमा प्रचण्डजीप्रति मेरो पोजेटिभ नै धारणा छ। सरकार कुन ढंगले अगाडि बढ्छ, त्यो हेरिकन हामी टुंगो गर्छौं। सरकारलाई विश्वासको मत दिन हामीले धेरै विश्लेषण गर्नुपर्छ। विश्लेषण गरेर बल्ल टुंगोमा पुग्छौं,’ उनले भने।

विचार मिल्नेहरूसँग एकता गर्न मोर्चा बनाएर पनि जान सक्ने बताउँदै उनले एकताका लागि कुन-कुन पार्टी आउने हेर्न बाँकी रहेको भनाइ राखे।

‘अहिले धेरै साना वामपन्थी दलहरू पनि छन। ती सबैसँग पनि हामी विभिन्न हिसाबले कुराकानी गर्नेछौं। चिठी पठाएर, फोन संवादबाट छलफल गर्ने तयारी छ,’ एमालेसँग एकृकीत समाजवादीको एकता हुनसक्छ भन्ने प्रश्नमा उनले भने, ‘जो हामीप्रति पोजेटिभ छन्, तिनीहरूसँग हामी पनि पोजिटिभ्ली नै जान्छौं, जो हामीसँग नेगेटिभ छन्। तिनीहरूलाई हामी पनि वास्ता गर्दैनौं। जुन गाउँ जानै छैन, त्यसको बाटो नै नसोध्नू।’

एमालेसँग एकताका आफ्नो पार्टीले कुनै प्रयास नै नगरे पनि यस विषयमा अनुचित हल्ला चलेको उनले स्पष्ट पारे। ‘मप्रति सदभाव राख्नेहरूको कुरा बेग्लै हो। सदभाव राख्नेहरू सबैलाई धन्यवाद छ। भावना राम्रो हुनु आफ्नो ठाउँमा छ। तपाईंहरूले भनेजस्तो एमालेसँग कुनै कुरा भएको छैन,’ नेपालले भने।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, (जसपा) सँग भने एकताको लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताए। ‘जसपासहित साना वामपन्थी दलहरूसँग पनि एकता र सहकार्यका लागि अघि बढ्ने हाम्रो प्रयास छ,’ उनले भने।

अहिले नै सरकारमा जान कुनै हतार नभएको भन्दै उनले अब पार्टीलाई थप क्रान्तिकारी पार्दै संगठन विस्तारको राष्ट्रव्यापी अभियान लिएर अघि बढ्ने पनि नेपालको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =