स्वार्थसहित अस्तित्वको लडाइँमा जसपा र एकीकृत समाजवादी

किरण पौडेल २१ पुष २०७९ १७:२९
86
SHARES
स्वार्थसहित अस्तित्वको लडाइँमा जसपा र एकीकृत समाजवादी

काठमाडौँ- एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) एकता गर्न आन्तरिक तयारीमा जुटेका छन्। एकीकृत समाजवादीले जसपासँग एकता गर्न वार्ता समिति गठन गरेको छ। जसपाले पनि समाजवादीसँग एकताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ।

निर्वाचनअघिसम्म फरकफरक गठबन्धनमा रहेका यी दुई दल निर्वाचन परिणाम कजमोर आएपछि एकताका लागि अघि बढेका हुन्। मंसिर ४ को निर्वाचनमा जसपा एमाले नेतृत्वको गठबन्धनमा थियो भने एकीकृत समाजवादी कांग्रेस नेतृत्वको गठबन्धनको नेतृत्वमा। ठूला दलसँग ‘बार्गेनिङ पावर’ बढाउने प्रयत्नका साथ दुई समाजवादीले एकताको पहल गरेका हुन्।

वैचारिक भिन्नता

चुनावअघि जनता समाजवादीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समाजवादी केन्द्र’ बनाउन प्रस्ताव गरेका थिए। तर यादवले चासोले लिएनन्। उल्टै उनले ‘आफू कम्युनिस्ट नभएको’ बताए।

उनले सार्वजनिक रूपमै ‘समाजवादी केन्द्र बनाउने प्रस्ताव नआएको र नबनाउने’ दाबी गरे। यादव अहिले एकता गराउन कस्सिएका छन्। यादव प्रतिनिधिसभा निर्वाचनमा सप्तरी-२ बाट पराजित भएका हुन्।
चुनाव हारेपछि उनी एकताका लागि एकीकृत समाजवादीका नेताहरूको घरघर धाउन थालेका छन्। एकताका लागि उनी केही दिनअघि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निजी निवास डल्लु पुगेका थिए। खनालसमक्ष प्रस्ताव राखेर नै उनले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरेका छन्।

जसपाका अध्यक्ष यादवसहित बहुसंख्यक नेता कम्युनिस्ट पृष्ठभूमिका हुन्। तर चुनावका बेला यादवले ‘कम्युनिस्ट नभएको’ दाबी गरेकाले उनको विचारधारा बुझिएको छैन।

समाजवादीमा एकताको प्रयत्न यादवले भन्दा संघीय अध्यक्ष अशोक राईले बढाएका छन्। ‘माधव नेपाल (एकीकृत समाजवादी, अध्यक्ष) बाटै प्रस्ताव आएकाले पनि सक्रियता बढाएका हौँ,’ राईले हिमाल प्रेससँग भने, ‘वार्ता समिति बनाइएको छ। कति सफल भइन्छ हेर्न बाँकी छ।’

राई कुनै बेलाका एमाले नेता हुन्। पार्टी आकार खुम्चदै जाँदाको चिन्ताले पनि राईले यो अस्त्र प्रयोग गरेका हुन्।  माधव नेपाललाई पनि ‘थ्रेस होल्ड’ नकटेको र राष्ट्रिय पार्टी नबनेकोमा तनाव छ।

यसबाट पार्टीको आन्तरिक जीवनमा समेत असर गरेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ। एकीकरण भएमा शक्ति बढ्ने अध्यक्ष नेपालको अनुमान छ। वामपन्थी सिद्धान्तमै अडिग अडिग नेकपा एकीकृत समाजवादीका केही नेताहरू भने वामपन्थी राजनीति बचाउन जसपासँग एकता गर्न नहुने पक्षमा छन्।

आन्तरिक खिचातानी मिलाउन एकीकरण

एकीकृत समाजवादीले सरकारमा जाने विषयमा ठोस निर्णय गर्न सकेको छैन। बैठक नै राख्दा पनि ठोस निर्णय लिन नसक्नुलाई नेतृत्वको कमजोरीका रूपमा हेर्न थालिएको छ। नेतृत्वले यथास्थितिमा पार्टी चलाउन नसक्ने टिप्पणी पार्टीभित्र हुन थालेको छ। त्यसैले एकीकृत समाजवादी सरकारमा नगए विभाजन हुन सक्ने सम्भावना प्रबल छ। यस्तो समस्या जसपामा पनि छ।

चुनाव हारेका यादव संसद् पस्ने तयारीमा छन्। यादवले सोही क्रममा पार्टीको संसदीय दलको नेतामा आफू निकट नेता राम सहायप्रसाद यादवलाई बनाएको चर्चा छ। यादवलाई उपराष्ट्रपति बनाएर आफू सोही ठाउँबाट चुनाव लड्ने प्रयत्नमा उपेन्द्र रहेको जसपाका एक नेता बताउँछन्।

दलको नेताका आकांक्षीमा अर्का अध्यक्ष अशोक राई र नेता राजकुमार यादव थिए। राई आफैँ सर्वसम्मत हुन चाहन्थे। तर उनले अन्तिम अवस्थामा उम्मेदवारी फिर्ता लिएका थिए।

राई आफूलाई किनारामा पारेको र दलको नेता बन्न नदिएको भन्दै निकटस्थसँग गुनासो गर्दै आएका छन्। राई राम्रो अवसर पाए एमालेमै फर्किन सक्ने सम्भावना पनि छ। उनीसँगै एमाले छाडेका कतिपय नेता पुनः एमालेमै प्रवेश गरेका छन्।

पृष्ठभूमिका आधारमा पनि राई निकट नेता एमालेमा प्रवेश गर्ने सम्भावना भएकाले यादवले एकीकृत समाजवादीसँग एकता गर्न खोजेको कतिपयको बुझाइ छ। निर्वाचनमा सुनसरी १ बाट एमालेकै मतले राईले जितेका हुन्।

एमालेको पकड क्षेत्रमा चुनाव जितेकाले पनि उनी एमाले नेतासँग निकट भएको उनी निकट नेता बताउँछन्। ‘अशोक दाइ (राई) राजनीतिमा धेरै लगानी गरेको नेता हुनुहुन्छ। तर पार्टीका अधिकांश निर्णयमा उहाँलाई सोधिँदैन,’ उनी निकट एक नेताले हिमाल प्रेससँग भने, ‘त्यसैले हेयका दृष्टिले हेर्न मिल्दैन।’

एमाले छाडेको दशकपछि प्रत्यक्ष निर्वाचन जितेका राई सरकारमा जाने प्रयत्नमा छन्। तर यादव पक्ष भने सरकारमा नजाने अडानमा छ।

शक्ति बढाउने आशा

‘आधार क्षेत्र’मै कमजोर बनेको जसपाले शक्ति बढाउन कुनै दलको साथ खोजिरहेको छ। यसपटक जसपाले प्रतिनिधिसभा निर्वाचनमा १२ सिट मात्र जितेको छ। एमालेसँगको तालेमल नफापेको भन्दै अध्यक्ष उपेन्द्र यादवले गुनासो गर्दै आएका छन्।

एकीकृत समाजवादीको पीडा पनि यस्तै छ। समानुपातिकमा तीन प्रतिशत मत नआएपछि एमालेबाट विद्रोह गर्नुको औचित्यसमेत एकीकृत समाजवादीका नेताहरूले पुष्टि गर्न सकेका छैनन्। समाजवादीसँग प्रतिनिधिसभामा १० सांसद छन्।

यी दुई पार्टी एक हुने हो भने प्रतिनिधिसभाको चौथो पार्टी (२२ सिट) बन्छ। हाल प्रतिनिधिसभामा चौथो ठूलो दल स्वतन्त्र पार्टीको २० सिट छ। संसद्मा संख्यासँगै बार्गेनिङ पावर बढ्नेछ। यस्तै यसको प्रभाव मधेश प्रदेशमा पनि पर्ने आकलन उपेन्द्र पक्षको छ।

सहज छैन एकता

जसपा र एकीकृत समाजवादीको एकता सहज भने छैन। पटकपटक फुटेका यी पार्टीलाई पार्टी निर्माणको आधार बनाउन सकस छ। ‘हामीले अहिले भन्दैमा तत्काल एकता हुने होइन। पहिले जसरी हतारमा एकता गर्दा नेकपा फुट्यो। त्यस्तै हुन्छ,’ एकीकृत समाजवादीका कार्यालय सचिव गंगालाल तुलाधर भन्छन्, ‘अहिले पनि हाम्रो पार्टी पक्तिमा एमालेसँगै एकता गर्नुपर्छ भन्नेको जमात बलियो छ।’ तुलाधरका अनुसार विगतका बैठकमा पनि एकता बारे अन्य पार्टीसँगको कुरा आएको थियो।

बैठकमा पनि अधिकांशले एमालेसँग एकता गर्न सहज हुने बताएका थिए। तर पनि शक्ति बढाउन जसपासँग एकता थालिएको तुलाधरको भनाइ छ।

जसपाका अध्यक्ष अशोक राई पनि वार्ताका लागि समिति गठनबाहेक अन्य प्रक्रिया अघि नबढेको बताउँछन्। ‘वार्ता समिति बनाइएको छ। सकारात्मक कुरा भए एकता हुन्छ। नभए नहुन सक्छ’, राई भन्छन्।
जसपा–एकीकृत समाजवादी तत्काल एकता भन्दा पनि तत्काल एउटै मोर्चा बनाएर अघि बढ्ने प्रयत्नमा छन्। समाजवादीका नेता तुलाधरका अनुसार संसद् र सरकारमा आवाज उठाउन मोर्चाबन्दी गर्ने काम तत्काल भए पनि एकता प्रक्रिया नहुने सुनाउँछन्।

दुवैलाई एमालेकै डर

दुवै दुवै पार्टी अहिले सत्तामा छैनन्। यदि प्रतिपक्षमै बसेमा सत्ताका लागि सांसदहरू एमाले प्रवेश गर्न सक्छन्। जसपाका अशोक राई निकट सांसदहरू एमाले प्रवेश गर्न सक्ने भय छ भने एकीकृत समाजवादीका सांसद पनि एमाले प्रवेश गर्न सक्छन्। यी दुवैलाई अहिले एमालेकै डर छ।

एमाले पहिलो ठूलो दल बन्ने प्रयत्नमा छ। पहिलो ठूलो दल बन्न अब नौ सिट चाहिने भएकाले एमालेबाट आकर्षक ‘अवसर’ आउन सक्ने आसमा एकीकृत समाजवादीका केही नेता छन्।

आधाआधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति भएकाले अढाइ वर्षपछि ओली प्रधानमन्त्री बन्नेछन्। सोही कारण सत्ताका लागि सांसदहरू एमाले प्रवेश गर्न सक्ने डर छ।

नेकपा एकीकृत समाजवादी ले वामपन्थी एकताको पहल गर्न कार्यदल गठन गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले महासचिव वेदुराम भुसाल भुसालको नेतृत्वमा समिति बनाएको हो।
समितिमा उपमहासचिवहरु गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला सदस्य छन्।

समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =