नेकपा एकीकृत समाजवादीको रोडम्याप : वामपन्थी एकता र संगठन सुदृढीकरण

हिमाल प्रेस १९ पुष २०७९ १८:१३
10
SHARES
नेकपा एकीकृत समाजवादीको रोडम्याप : वामपन्थी एकता र संगठन सुदृढीकरण

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले वामपन्थी एकतालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। पार्टीको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै पार्टी संगठन विस्तार र सुदृढीकरण तर्फ केन्द्रित हुने भएको छ।

बैठकले वामपन्थीबीच एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने र वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउन केन्द्र भागमा रहेर काम गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

खतिवडाले भने, ‘हाम्रो पार्टी सदैव वामपन्थी एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने र वामपन्थी जनमतहरुलाई एक ठाउँमा ल्याउने कुरामा केन्द्र भागमा रहेर काम गर्न प्रतिबद्ध छ। विगतमा पनि थियो, आज पनि छ र भोलि पनि यो जिम्मेवारीलाई हाम्रो पार्टीले पूरा गर्नेछ।’ खतिवडाका अनुसार यससम्बन्धी गृहकार्य गर्नका निम्ति केन्द्रीय सचिवालयलाई अनुमति दिएको छ।

एमाले विभाजन गरी साउन ९ मा माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एस) दर्ता भएको थियो। उक्त पार्टी संघीय संसद्मा १० सिटमा निर्वाचित भएको छ। गठबन्धन गरेर चुनावमा गएको कांग्रेसले प्रधानमन्त्री आफैँले राख्ने अडान नछाडेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग गठबन्धन गरी सरकारमा गएका छन्।

आफूलाई कुनै पनि जानकारी नदिई प्रचण्डले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन गरेको विषयमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट छन्। सोही कारण पार्टीले सरकारमा जाने विषयमा कुनै निर्णय गर्न सकेन।

सरकारमा पार्टीको सहभागिताबारे थप अध्ययन, छलफल, विचार विमर्श गर्नुपर्ने भएकाले त्यसको निर्णय गर्ने अधिकार पोलिटब्युरो बैठकले केन्द्रीय समितिलाई दिने निर्णय गरेको छ। बैठकमा धेरैजसो नेताले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएपछि यस्तो निर्णय गरेको हो।

प्रचण्ड नेतृत्वको सरकारले देश र जनताको हितमा केकस्ता कार्यक्रम ल्याउन सक्छ र नेकपा एससँग सरकारको राजनीतिक सम्बन्ध के-कस्तो रहनेछ? भन्ने बारेमा थप गृहकार्य गर्ने निर्णय बैठकले गरेको छ।

पार्टीले संगठन सृदुढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्ने, सदस्यता विस्तार, पार्टीभित्र आर्थिक आत्मनिर्भरताको अभियान सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरेको छ। खतिवडाले भने, ‘यी सबै विषयको कार्ययोजना बनाउन पार्टीको केन्द्रीय सचिवालयलाई बैठकले अनुमति प्रदान गरेको छ’, प्रवक्ता खतिवडाले भने।

वामपन्थी पार्टीहरुबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पार्टी केन्द्रीय सचिवालयलाई दिइएको प्रवक्ता खतिवडाले जानकारी दिए। उनले भने, ‘केन्द्रीय सचिवालयको संयोजनमा यो काम अघि बढाउन पनि बैठकले अनुमति दिने निर्णय भएको छ।’

न्युज एजेन्सी नेपालको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 10 =