आर्थिक अनियमितताको आरोपमा उपरथी शाही अनुसन्धानमा

हिमाल प्रेस १९ पुष २०७९ १७:३०
16
SHARES
आर्थिक अनियमितताको आरोपमा उपरथी शाही अनुसन्धानमा फाइल तस्बिर : शाहीले उपरथीको दर्ज्यानी लगाउँदै गर्दा।

काठमाडौँ- नेपाली सेनाका उपरथी (मेजर जनरल) प्रेम शाहीलाई सैनिक आचरण र अनुशासनविपरीत काम गरेको आरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ। सैनिक मुख्यालय जंगीअड्डाले मंगलबार उपरथी शाहीलाई आर्थिक अपचलनको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी शाहीविरुद्ध सैनिक अनुशासन र आर्थिक अपचलनको केही उजुरी परेकाले त्यसमा छानबिन गर्ने क्रममा सैनिक प्रहरीको हिरासतमा राखेको बताए। अदालतको आदेशसँग यो विषयको कुनै पनि सरोकार नरहेको पनि उनले दाबी गरे।

उमेर हदका कारण शाही बुधबार (पुस २०) बाट नियमित अवकाशमा जाँदै थिए। नियमअनुसार उनले आफ्नो अवकाश पत्र पनि बुझिसकेका थिए। शाहीले आफ्नो वास्तविक उमेरभन्दा १ वर्ष बढी कायम गरिएको भन्दै शाही सैनिक मुख्यालय र रक्षा मन्त्रालयको निर्णयविरुद्ध दुई पटक सर्वोच्च अदालत पुगेका थिए। उनको उमेर अंग्रेजीमा उल्था गर्दा बिगारेको भन्दै अदालत गएका थिए।

सर्वोच्च अदालतले उनले अवकाश बुझेको पुस १३ मा शाहीको पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकाशमा पठाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उनी पुन: सैनिक मुख्यालय गएका थिए। सर्वोच्चको आदेश पाएको भन्दै शाही मंगलबार नियमित कामको लागि जंगी अड्डा पुगेका हुन्।

उनी जंगी अड्डा पुगेलगत्तै सैनिक प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। यद्यपि सैनिक प्रवक्ता भण्डारीले उपरथी शाही सैनिक प्रहरीको अनुसन्धानमा रहेकाले अहिले केही भन्न नमिल्ने बताए।

शाहीलाई स्वास्थ्य परीक्षणको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगेकोले उनलाई मुख्यालयमा ल्याएर वा अस्पतालमै राखेर अनुसन्धान गर्ने अझै निर्णय भएको छैन। अनुसन्धान पूरा नभएसम्म उनलाई सैनिक मुख्यालयमै राखिने भण्डारीले जानकारी दिए।

प्रकाशित: १९ पुष २०७९ १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =