स्वदेशमै पसिना बगाउँदा प्रशस्त आम्दानी

हिमाल प्रेस १९ पुष २०७९ १६:२६
6
SHARES
स्वदेशमै पसिना बगाउँदा प्रशस्त आम्दानी

दमौली- मनग्य आम्दानी हुन थालेपछि तनहुँका किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन्। स्वदेशमै विदेशजति आम्दानी हुने भएपछि उनीहरू पशुपालनतर्फ आकर्षित भएका हुन्।

म्याग्दे गाउँपालिका-४ सिस्नेरीका बमबहादुर थापाले बंगुरपालन गरिरहेका छन्। कुनै समय वैदेशिक रोजगारीका लागि कुवेत हानिएका उनले त्यहाँ १६ वर्ष बिताए। तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच पलाएपछि उनी स्वदेश फर्किए। बंगुरपालनमा लागे।

विदेशमा राम्रो कमाइ हुँदाहुँदै पनि नेपाल फर्किएका उनले ‘लाङघाली कृषि फार्म’ दर्ता गरी बंगुरपालन गरिरहेका छन्। ‘परिवारसँगै केही गरौँ भन्ने भावनाले नेपाल फर्किएँ,’ उनले भने

थापाले आफ्नै जग्गामा १५ लाख रुपैयाँको लगानीमा बंगुरपालन व्यवसाय सुरु गरेका हुन्। ‘कति अर्काको देशमा श्रम बेच्ने,’ उनले भने, ‘घरपरिवारसँग टाढिएर बस्ने बाध्यतालाई बिट मारेको छु। अहिले १० रोपनी जग्गामा बंगुर फार्म चलाएको छु।’

डेढ वर्षअघि सञ्चालनमा आएको फार्ममा अहिले ३३ वटा बंगुर छन्। तिनको स्याहारसुसारमा थापाको परिवार नै खटिने गरेको छ। ‘विदेशमा बगाउने पसिना स्वदेशमै बगाउँदा आत्मनिर्भर बन्न सकिन्छ,’ उनले भने, ‘त्यसमाथि परिवारसँगै व्यवसाय गर्न पाउँदा सन्तुष्टि पनि मिल्छ।’

बंगुर बिक्रीका लागि बजारको भने समस्या रहेको थापाको गुनासो छ। ‘मासु बेच्ने पसल आफ्नो नहुँदा भनेजस्तो मूल्य पाउन सकिएको छैन,’ उनले भने, ‘व्यवसायमा लाखौँ लगानी भएको छ। तर बजार अभाव छ। उत्पादन त गर्ने तर बेच्ने कहाँ? समस्या बढ्दै गइरहेको छ। बंगुर बिक्रीका लागि बिचौलिया लगाउनुपर्ने बाध्यता छ।’

त्यसका लागि सम्बन्धित निकायसँग अनुरोध गरेको थापाको भनाइ छ। बंगुरका पाठापाठी बिक्री गरे तापनि अन्य स्थानबाट आयात हुने पाठापाठीसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको पनि उनले बताए। ‘पहिले प्रति पाठापाठी ७ हजार ५ सय रुपैयाँमा बिक्री गर्ने गरे पनि अहिले छ हजारमा बेच्नुपर्ने बाध्यता छ,’ उनले भने। तीव्र प्रतिस्पर्धा, दानापानीको मूल्य बढ्ने तर बंगुुरको मूल्य घटाएर बेच्नुपर्ने बाध्यताका कारण काम गर्न सहज भने नरहेको उनले बताए। ‘गाउँपालिकाले बजारको खोजी गरिदिए सहज हुन्थ्यो,’ उनले भने।

म्याग्दे गाउँपालिका-६ का अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपैयाँ लगानी गरेर पोल्टी फार्म सञ्चालनमा ल्याएका छन्। जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यले पोल्टी फार्म सञ्चालित गरेको उनीहरूको भनाइ छ।

पोल्टी फार्ममा हाल १९ हजार लेयर्स कुखुरा रहेका छन्। फार्मबाट दैनिक १५ हजार गोटा अण्डा उत्पादन हुन्छ। फार्मका सञ्चालक थापाका अनुसार त्यहाँ नौ जनाको परिवारले रोजगारी पाएका छन्।

व्यवसाय सञ्चालनमा मासिक ३५ लाख रुपैयाँ खर्च हुने सञ्चालकमध्ये एक अमृत थापाले बताए। ‘१९ हजार कुखुराका लागि दैनिक १ लाख २० हजार रुपैयाँ दानामा खर्च हुने गर्छ,’ उनले भने। उक्त पोल्टी फार्म ५३ रोपनी जग्गामा फैलिएको छ। बाटो राम्रो नहुँदा ढुवानी खर्च महँगो पर्ने गरेको थापाको भनाइ छ।

जिल्लामै दाना उद्योग नहुँदा बाहिर जिल्लाबाट दाना ल्याउनुपर्ने बाध्यता रहेको छ। ‘चितवन र पोखराबाट कुखुराका लागि दाना ल्याउनुपर्छ,’ उनले भने, ‘फार्मसम्म ल्याउन ट्याक्टर प्रयोग गर्नुपर्छ। त्यसले गर्दा पनि खर्च बढ्छ।’

स्थानीय बजारले अण्डाको उत्पादन धान्न नसक्ने भएपछि यहाँ उत्पादित अण्डा छिमेकी जिल्लामा पनि निर्यात हुँदै आएको छ। त्यसका अतिरिक्त चितवन, पोखरा, काठमाडौँसम्म अण्डा निर्यात हुने गरेको सञ्चालक थापाले बताए।

अण्डा बिक्रीका लागि बजारको समस्या नरहेको उनको भनाइ छ। लामो समयदेखि लेयर्स कुखुरा उत्पादनमा लागेको हुँदा अब अण्डा र चल्ला उत्पादनबारे जानकारी भइसकेको उनले बताए। ‘लामो समयदेखि यही व्यवसायमा भएकाले कुखुरालाई कुनै पनि रोग लागेमा त्यसको पहिचान र समाधान आफैँले गर्न सक्ने भएका छौँ,’ थापाले भने।

चल्ला हुर्काउन अत्यन्त जोखिम रहेको अर्का सञ्चालक गुरुप्रसाद पौडेलले बताए। ‘त्यसका लागि निश्चित तापक्रम दिनुपर्ने हुन्छ,’ उनले भने।

फार्ममा भएका कुल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिने गरेको पौडेलको भनाइ छ। दिनमा १५ हजार अण्डा उत्पादन हुने हुँदा अण्डा खरिदका लागि व्यवसायी आफैँ फार्मसम्म आउने गरेको उनले बताए। ‘अण्डा बिक्री गर्न अन्यत्र भौतारिनु पर्दैन,’ उनले भने, उनले भने, ‘व्यवसाय गरेपछि आम्दानी त हुन्छ नै त्योभन्दा बढी स्वदेशमै बसेर व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको छ।’

म्याग्दे गाउँपालिका-४की समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरिरहेकी छन्। उनले बैंकबाट ऋण काढेर भैँसीपालन सुरु गरेकी हुन्। ‘असिम भैँसी फार्म’की सञ्चालक श्रेष्ठले मासिक ५० हजार रुपैयाँ बचत गर्दै आएकी छन्।

श्रेष्ठले आठ रोपनी जग्गा भाडामा लिएर भैँसी पालिरहेकी छन्। प्रतिभैँसी २ लाख ५० हजार रुपैयाँका दरले छवटा भैँसी खरिद गरेर व्यवसाय सुरु गरेकी हुन्। ‘विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय सुरु गर्दा आनन्द आएको छ,’ उनले भनिन्।

‘देशमै केही गरौँ’ भन्ने मनसायबाट पशुपालनतर्फ लागेको उनले बताइन्। ‘स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ,’ उनले भनिन्, ‘पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैँसीपालन गर्न थालेँ।’ उनको फार्ममा अहिले १३ वटा भैँसी छन्।

घाँसका लागि श्रेष्ठले जग्गा भाडामा लिएकी छन्। अहिलेसम्म करिब ३० लाख रुपैयाँ लगानी गरिसकेको उनको भनाइ छ। भैँसी फार्मबाट दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ। दूध बिक्रीका लागि बजारको समस्या नरहेको उनले बताइन्।

‘दूधले राम्रो बजार पाइरहेको छ,’ उनले भनिन्, ‘बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनुपरेको छैन। स्थानीय थर्पु बजार र आसपासमा दूध बिक्री भइरहेको छ।’

बजार सानो भए पनि दूध बिक्रीका लागि समस्या नहुँदा उनी खुसी छन्। ‘सबै खर्च कटाएर मासिक ५० हजार कमाउँछु,’ उनले भनिन्, ‘यति रकमले घरखर्च चलाउन सहयोग पुगेको छ।’

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवा विदेश नगई स्वदेशमै व्यवसाय गर्दा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए। ‘युवाहरू उत्पादनसँग जोडिनुपर्छ,’ उनले भने, ‘व्यवसाय प्रवर्द्धनका लागि पालिका सहयोग गर्न तयार छ।’

कृष्ण न्यौपाने, रासस

प्रकाशित: १९ पुष २०७९ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =