कर्णाली प्रदेशसभाको पहिलो बैठक : गरिबी र भोकमारीविरुद्ध लड्ने प्रतिबद्धता

अर्को बैठक २५ गते दिउँसो १ बजे बस्‍ने

हिमाल प्रेस १८ पुष २०७९ २०:४९
8
SHARES
कर्णाली प्रदेशसभाको पहिलो बैठक :  गरिबी र भोकमारीविरुद्ध लड्ने प्रतिबद्धता

सुर्खेत– कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले जुनसुकै राजनीतिक दलबाट जितेर आए पनि यहाँको गरिबी, भोक, रोग र अशिक्षाविरुद्ध एक भएर अगाडि बढ्नुपर्ने जोड दिएका हुन्।

बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णालीमा दल वा सरकारविरुद्ध नभई निर्वाचित सबै जनप्रतिनिधिहरूले सबै खाले चुनौतीसँग जुध्नु आजको आवश्यकता रहेको उल्लेख गरे।

प्रदेश निर्माणमा अरूलाई दोष दिने छुट नभएकाले विधायकहरूले राम्रो ऐन, कानून बनाउनुपर्नेमा जोड दिँदै उनले जननिर्वाचित ज्येष्ठ सदस्यसहित सबै प्रदेशसभा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले गएको कार्यकालले जग बसालिसकेकाले यो कार्यकाललाई अझ बढी परिणाममुखी र सुदृढ गरेर लैजान एकमत हुनुपर्ने बताए।

कर्णालीमा विकास गर्नेभन्दा खाने मनोविज्ञान हाबी भएकाले अब सही सन्देश दिनुपर्ने भन्दै नवनिर्वाचित प्रदेशसभा सदस्यलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन गरे।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले जनताप्रति जवाफदेही भएर जनयुद्ध, जनआन्दोलन र विभिन्न कालखण्डको परिवर्तनबाट आएको व्यवस्थाको संरक्षण आजको नेतृत्वले गर्नुपर्ने बताए

गरिबी भोकमारीविरुद्ध लड्न साझा अवधारणा आवश्यक भएको बताएका उनले जनताको अभिमत र अमूल्य योगदानबाट आज यो व्यवस्थामा निर्वाचित हुन सकिएको भन्दै मतदातालाई धन्यवाद र प्रदेशसभा सदस्यहरूलाई बधाई ज्ञापन गरे।

राप्रपा नेपालका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाही, नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य कल्याणी खड्का र स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्र शाहीले कर्णाली प्रदेशको शान्ति, विकास र समृद्धिका लागि समन्वय, सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताए।

ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभा सञ्चालनका क्रममा कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ११ को उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने प्रयोजनका लागि हिक्मत विष्ट, भीमप्रकाश शर्मा र जितबहादुर मल्ललाई मनोनयनको प्रस्ताव गरे। सो प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको थियो। प्रदेशसभाको अर्को बैठक यही पुस २५ गते दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: १८ पुष २०७९ २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =