लुम्बिनी प्रदेशसभाको पहिलो बैठकबाट प्रदेशसभा नियमावली पारित

तेस्रो बैठक माघ ३ गते बस्ने

हिमाल प्रेस १८ पुष २०७९ २०:३८
4
SHARES
लुम्बिनी प्रदेशसभाको पहिलो बैठकबाट प्रदेशसभा नियमावली पारित फाइल तस्बिर।

दाङ– प्रदेशसभाको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित गरेको छ। ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो।

नियमावली पारित भएसँगै अब यही नियमावलीका आधारमा प्रदेशसभाले आफ्ना गतिविधि अघि बढाउनेछ। यसअघि प्रदेश ५ नियमावली, २०७४ थियो। तर त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको हो।

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ। पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोकेका हुन्। अब सभामुख र उपसभामुख चयनका लागि प्रदेशसभामा बाटो खुलेको छ।

पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानूनी व्यवस्था छ। सोहीअन्तर्गत राजनीतिक दलबीच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

संविधानको धारा, १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ।

निजामती ऐन पारित नहुँदा समस्या

लुम्बिनी प्रदेशको दोस्रोसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले निजामती सेवा ऐन पारित नहुँदा कार्य सम्पादनमा जटिलता देखिएको बताए। उनले स‌ंघीय निजामती सेवा ऐन नआउँदा प्रदेश निजामती सेवा ऐन पारित गरि कार्यान्वयन गर्न जटिलता थपिँदा जनशक्ति व्यवस्थापनको समस्या बढेको बताए।

प्रकाशित: १८ पुष २०७९ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =