चौतर्फी विरोधपछि दूधको मूल्यवृद्धि फिर्ता

हिमाल प्रेस १७ पुष २०७९ २०:०२
2
SHARE
चौतर्फी विरोधपछि दूधको मूल्यवृद्धि फिर्ता प्रतीकात्मक तस्बिर।

काठमाडौँ– डेरी व्यवसायीहरूले दूधको मूल्यवृद्धि फिर्ता लिएका छन्। आइतबार कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय फिर्ता भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताए।

‘आज सरोकारवाला निकायहरूसँग बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको मूल्य स्थगन गरिएको छ। दूध उत्पादन लागत मूल्य, बजार मूल्यवृद्धि तथा उपभोक्ता क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति भएको छ,’ यादवले भने।

दूधको मूल्यवृद्धि स्थगन भएकोबारे राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ र डेरी उद्योग संघलाई आइतबार नै पत्राचार गरिसकेको छ।

तर नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले भने आजको छलफलबाट कुनै सहमति नभएको प्रतिक्रिया दिए। ‘आजको छलफलबाट आएको निष्कर्षप्रति हामी सहमत छैनौँ। कुन आधारमा मूल्य बढाउन पाइँदैन र बढाएको मूल्य लिन पाइँदैन भनेर बोर्डले हामीलाई पत्र काटोस्। हामी फिर्ता लिन्छौँ,’ दाहालले भने।

आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ मा दूधलाई आवश्यक खाद्य पदार्थमा उल्लेख गरेको छ। तर केही उद्योगहरुले शनिबारदेखि लागू हुनेगरी दूधको मूल्य आफूखुसी प्रतिलिटर १४ रुपैयाँसम्म बढाएका थिए। किसानबाट खरिद गर्दा महँगो परेका कारण बजार बिक्री मूल्य पनि महँगो भएको उनीहरूको भनाइ छ।

केही सीमित डेरी उद्योगीहरूले मात्रै आफूखुसी मूल्य बढाएपछि नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, किसानका छाता संस्था र उपभोक्ता अधिकारकर्मीहरूले त्यसको विरोध गरेका थिए।

दूधमा भएको भनिएको मूल्यवृद्धि विद्यमान कानुनी व्यवस्थाभन्दा विपरीतसमेत देखिएको थियो।‘वार्षिक मूल्यवृद्धि एवम् उत्पादन लागतका आधारमा दूधको मूल्यलाई हरेक २ वर्षमा दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरावलोकन गर्ने व्यवस्था गरिनेछ,’ राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा उल्लेख छ।

प्रकाशित: १७ पुष २०७९ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =