नयाँ गठबन्धन खिचडीजस्तो, नीति स्पष्ट नपारेसम्म सत्तामा जाँदैनौं : झलनाथ

हिमाल प्रेस १७ पुष २०७९ १९:१५
4
SHARES
नयाँ गठबन्धन खिचडीजस्तो, नीति स्पष्ट नपारेसम्म सत्तामा जाँदैनौं : झलनाथ फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सरकार खिचडीजस्तो भएको बताएका छन्। आइतबार पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

सरकारमा सहभागी दलहरूको साझा कार्यक्रम र नीति नै स्षप्ट नभएको उनको भनाइ छ। नयाँ गठबन्धन खिचडीजस्तो भएको र नीति तथा कार्यक्रमबारे केही थाहा नभएको अवस्थामा सरकारमा जाने वा नजाने विषयका कुनै निर्णय नभएको र पर्ख र हेरको अवस्थामा रहेको खनालले जानकारी दिए।

पोलिटब्यूरो बैठकमा पनि सरकारमा जाने या नजानेबारे छलफल हुने र आवश्यक निर्णय गरिने उनले बताए। आफुहरू पहिलेदेखि नै वामपन्थी एकता हुनुपर्ने अडानमा भए पनि टाउको जोडेरमात्र एकता नहुने खनालले स्पष्ट पारे।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सोमबार बस्ने पोलिटब्यूरो बैठकले निष्कर्ष निकालेपछि समसामायिक राजनीतिक परिस्थितिमा धारणा सार्वजनिक गर्ने बताए।

नेकपा एमालेसँगको पार्टी एकता बजार हल्लामात्रै भएको र दुवैतर्फबाट कुनै छलफल नभएको उनले जनाए। बैठकमा पार्टी निर्माण, सुदृढीकरण विस्तारलगायतका विषयमा छलफल भएको उनले जानकारी दिए।

शनिबार र आइतबार दुई दिनसम्म चलेको बैठकमा केही नेताले पार्टी सरकारमा जानुपर्ने बताएका छन् भने केही नेताले प्रतिपक्षमै बसेर संघर्ष गर्नुपर्ने सुझाव दिएका छन्।

प्रकाशित: १७ पुष २०७९ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 16 =