नेपालको सार्वजनिक ऋण २० खर्ब, पछिल्लो ५ वर्षमै दोब्बर

हिमाल प्रेस १७ पुष २०७९ १७:५५
22
SHARES
नेपालको सार्वजनिक ऋण २० खर्ब, पछिल्लो ५ वर्षमै दोब्बर

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कुल सार्वजनिक ऋण २० खर्ब ७ अर्ब ८४ करोड पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण ०.२७ प्रतिशतले घटेको हो।

गत असार मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ थियो। कार्यालयका अनुसार पहिलो त्रैमासिक अवधिसम्ममा नेपालको कुल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड छ भने आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड बराबर छ। यो आँकडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाह्य ऋण २४ अर्ब ३८ करोडले बढेको र आन्तरिक ऋण २९ अर्ब ८३ करोड रुपैयाँले घटेको हो।

चालु आवको पहिलो तीन महिनामा सरकारले कुल २४ अर्ब ७० करोड बराबर बाह्य ऋण उठाएको छ। यही अवधिमा आन्तरिक ऋण उठाएको छैन। पहिलो त्रैमासमा सरकारले ५ अर्ब ८४ करोड बराबर बाह्य ऋण तिरेको छ। विदेशी मुद्रामा लिएको ऋण विनियमदरमा भएको वृद्धिका कारण थप ५ अर्ब ५२ करोड तिर्नुपर्ने पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यही अवधिमा आन्तरिक ऋणको साँवा र ब्याजका रूपमा २९ अर्ब ८३ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

अहिले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ छ। जीडीपीको आकारसँग नेपालको सार्वजनिक ऋणको अवस्था तुलना गर्दा ४१.३८ प्रतिशत पुगेको छ। आन्तरिक ऋण व्यवस्थापन सकसपूर्ण अहिले नेपालका लागि बाह्य ऋणको तुलनामा आन्तरिक ऋण भुक्तानी बढी सकसपूर्ण रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी हीरा न्यौपानेले बताए।

ब्याजदर बढ्नु र भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजको भार बढेका कारण समस्या देखिएको उनको भनाइ छ। नेपालले विभिन्न ऋणपत्र, बचतपत्र तथा ट्रेजरी बिल सार्वजनिक गरेर आन्तरिक ऋण उठाउने गरेको छ। ‘ब्याजदरका कारण ऋणपत्र र ट्रेजरी बिलको ब्याज पनि महँगो भएको छ,’ न्यौपानेले भने, ‘बाह्य ऋण सहुलियत ब्याजदरको र लामो समयका लागि लिइने भएकाले व्यवस्थापनमा समस्या छैन।’

नेपालले विदेशी दातृ निकायबाट व्यावसायिक ऋण प्रयोग गरेको छैन। सहुलियतपूर्ण कर्जा मात्रै नेपालले लिने गरेको छ। अधिकांश बाह्य ऋण करिब १ प्रतिशत ब्याजदरमै लिइएको न्यौपाने बताउँछन्। तर नेपालले लिएको विदेशी ऋण विदेशी मुद्रामा तिर्नुपर्ने भएकाले विनियय दरमा आउने उतारचढावले भने समस्या पर्छ।

एडीबीलाई नेपालले ३ खर्ब २३ अर्ब ६४ करोड ९० लाख ऋण तिर्न बाँकी रहेको छ। नेपालले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग ४८ अर्ब ४१ करोड ३४ लाख र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ४३ अर्ब ८९ करोड ५३ लाख रुपैयाँ बराबर ऋण लिएको छ।

‘बाह्य ऋणको चुनौती भनेको विनिमय दरको उतारचढाव हो,’ उनले भने। नेपालको सबैभन्दा ठूलो ऋणदाता विश्व बैंक समूहअन्तर्गत ‘इन्टरनेसनल डेभलपमेन्ट’ एसोसिएसन (आईडीए) हो। आईडीएसँग नेपालले ५ खर्ब २६ अर्ब १ करोड १८ लाख रुपैयाँ बराबर ऋण लिएको छ।

त्यस्तै, एसियाली विकास बैंक (एडीबी) नेपालको दोस्रो ठूलो ऋणदाता हो। एडीबीलाई नेपालले ३ खर्ब २३ अर्ब ६४ करोड ९० लाख ऋण तिर्न बाँकी रहेको छ। नेपालले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग ४८ अर्ब ४१ करोड ३४ लाख र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ४३ अर्ब ८९ करोड ५३ लाख रुपैयाँ बराबर ऋण लिएको छ। एक्जिम बैंक लाइन अफ क्रेडिट-इन्डियासँग ३७ अर्ब ५६ करोड ६३ लाख, एक्जिम बैंक अफ चाइनासँग ३३ अर्ब ५१ करोड २८ लाख, इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) सँग १० अर्ब २५ करोड ४४ लाख र ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट (ओएफआईडी) ८ अर्ब ३८ करोड ३३ लाख बराबर ऋण नेपालले लिएको छ।

युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआइबी) को ५ अर्ब ६१ करोड ५५ लाख, एक्जिम बैंक कोरियासँग ५ अर्ब ६२ करोड ८५ लाख, साउदी कोषको ३ अर्ब ३ करोड, नर्डिक डेभलपमेन्ट फन्डको १ अर्ब ८१ करोड ८५ लाख र कुवेतको १ अर्ब ५० करोड ५७ लाख ऋण तिर्न बाँकी छ। त्यसैगरी, नेपालले बेल्जियमसँग ५७ करोड ३६ लाख, युरोपियन इकोनोमिक काउन्सिल (ईईसी) सँग १९ करोड ५३ लाख, नाजिक्सिक बैंक फ्रान्स १३ करोड ९५ लाख र एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी) सँग ३ करोड ७० लाख बराबर ऋण लिएको देखिन्छ।

नेपालले अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले स्पेसल ड्रइङ राइट (एसडीआर) अन्तर्गत मान्यता पाएका विभिन्न पाँचवटा मुद्रा (अमेरिकी डलर, जापानी येन, युरो, पाउन्ड स्टर्लिङ र चिनियाँ येन) मा तिर्नेगरी ऋण लिने गरेको छ। पाँच वर्षमा दोब्बर प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको अघिल्लो निर्वाचनताका नेपालको सार्वजनिक ऋण अहिलेको भन्दा आधा थियो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालको सार्वजनिक ९ खर्ब १७ अर्ब बराबर थियो। यस्तो ऋण आर्थिक वर्ष २०७५/७६ मा १० खर्ब ४८ अर्ब पुग्यो। त्यस्तै, सार्वजनिक ऋण आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब र आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३७ अर्ब पुगेको देखिन्छ। गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब पुगेको थियो।

हेमन्त जोशी/रासस

प्रकाशित: १७ पुष २०७९ १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =