सरकारमा जाने वा नजाने निर्णय नेकपा (एस)ले आज गर्ने

हिमाल प्रेस १७ पुष २०७९ ७:१२
8
SHARES
सरकारमा जाने वा नजाने निर्णय नेकपा (एस)ले आज गर्ने फाइल तस्बिर।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने वा नजाने भन्ने बारेको निर्णय आज (आइतबार) गर्ने भएको छ। शनिबार बसेको स्थायी समिति बैठकमा केही नेताहरूले धारणा राख्न बाँकी रहेकाले आजसम्मका लागि बैठक स्थगित गरिएको थियो। बाँकी नेताहरूले धारणा राखेपछि निर्णय गरिने नेकपा (एस)ले जनाएको छ ।

शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका छन्। वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा नेकपा एमालेसँग एकता गर्ने विषयमा भने नेताहरूबीच मतभिन्नता देखिएको उनको भनाइ छ।

बैठकको प्रारम्भमा अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा राखेका थिए। पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेन्डाका साथ देशव्यापी अभियान अगााडि बढाउन नेताहरूलाई उनले निर्देशन दिएका थिए। अध्यक्ष नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गरेको खतिवडाले जानकारी दिए।

पार्टीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणका लागि आवश्यक पर्ने वैचारिक र राजनीतिक हतियारलाई चुस्त, दुरुस्त पार्नुपर्नेमा जोड दिए। पार्टी सञ्चालनमा समग्र विषयको वृहत छलफल गर्नुपर्ने उनको भनाइ छ।

महासचिव डा‍ बेदुराम भुसालले संगठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गरेका थिए। पछिल्लो समय जनवर्गीय संगठनका साथै प्रवासमा रहेका पार्टीनिकट संगठन, शुभेच्छुकहरूसँग सुझाव लिइएको उनले बताए।

केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने सुझाव दिए भने केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै संगठन सुदृढीकरणमा लाग्नुपर्नेजस्ता सुझाव दिएका छन्।

प्रकाशित: १७ पुष २०७९ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =