सरकार गठन प्रक्रिया : ओलीको नजर रास्वपातिर

हिमाल प्रेस ४ पुष २०७९ १५:००
48
SHARES
सरकार गठन प्रक्रिया : ओलीको नजर रास्वपातिर

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेपछि दलहरू संसदीय अंकगणिततर्फ केन्द्रित भएका छन्। राष्ट्रपति भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएपछि दलहरू जोडघटाउमा जुटेका हुन्।

प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व छ। कांग्रेसका ८९, एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टी (जसपा) का १२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १४ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० सांसद छन्। स्वतन्त्र सांसदहरुमा अमेरशकुमार सिंह, प्रभु साह, लालवीर चौधरी, योगेन्द्र मण्डल र किरणकुमार साह छन्।

थ्रेस होल्ड कटाउन नसकेका एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पनि प्रतिनिधिसभामा प्रतिनिधित्व छ।

चासोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परेको छ। राष्ट्रिय दलका रूपमा कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टी छन्।

सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्छ। गठबन्धन बनाएर चुनाव लडेका पाँच दलको सरकार बन्न बहुमत नजिक जनमत छ। सीके राउत नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारमा जाने निर्णय गरेका कारण सत्ता गठबन्धनलाई सरकार बनाउन अंकगणितका हिसाबले समस्या पर्ने देखिन्न। यसकारण नयाँ समीकरणको सम्भावनाबारे पनि बहस भएका छन्। यही बेला २० सिटसहितको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि संवादमा आएको हो।

यस क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा जाने या नजानेबारे जिज्ञासा राखेका छन्। रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने, ‘समसामयिक विषयमा कुरा भए। एकअर्कालाई बुझ्ने कोसिस भयो।’

सरकार गठनबारे कुरा उठ्दा ओलीले रविलाई सोधेका थिए, ‘सरकारमा जाने, नजानेबारे के सोच्नुभएको छ?’ लामिछानेले भने आफूहरुलाई एकल सरकार बनाउने मत प्राप्त नभएकाले आफूले त्यसबारे धेरै नसोचेको बताएका थिए। यद्यपि जसले आफ्ना मुद्दा सम्बोधन गर्छ उसलाई साथ हुनसक्ने संकेत लामिछानेले गरेका थिए।

प्रकाशित: ४ पुष २०७९ १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =