अर्जेन्टिनालाई सफल बनाउने रोजारियोका दुई नायक

हिमाल प्रेस ४ पुष २०७९ १०:२९
62
SHARES
अर्जेन्टिनालाई सफल बनाउने रोजारियोका दुई नायक

विश्वकप जितेपछि अर्जेन्टिनाभर खुसीयाली मनाइँदैछ। पेनाल्टीमा जित पक्का भएसँगै कप्तान लियोनल मेस्सीको गृहनगर रोजारियोका प्रत्येक सडक स्थानीय अर्जेन्टाइनले भरिए। ‘अन्ततः हामी च्याम्पियन बनेका छौँ। जसरी हुन्छ हामी उपाधि जित्न चाहन्थ्यौँ। मेस्सी र पूरै टिमका लागि यो उपाधि आवश्यक थियो,’ २५ वर्षीय सान्टियागो फेरारिसले भने।

आतिरिक्त समय सकिँदा दुवै टिमले तीन–तीन गोल गरेपछि विजेता चुन्न पेनाल्टीको सहारा लिइएको थियो। मेस्सी आफैँले २३ र १०८ औँ मिनेटमा गोल गरेका थिए। स्थानीय क्लब नुएल्स ओल्ड ब्वाइजमा हुर्किएका मेस्सीबाहेक रोजारियो सहरकै रोजारियो सेन्ट्रलबाट खेलेका एंगल डि मारियाले पनि पहिलो हाफमा गोल गरेका थिए।

अर्जेन्टिनाका अरु सहर जस्तै रोजारियो पनि खेलभर टेलिभिजन अगाडि अडियो। पहिलो हाफमा कायम गरेको दुई गोलको अग्रता दोस्रो हाफमा गुमाएपछि पूरै अर्जेन्टिना स्वाभाविक रुपमा निराश बनेको थियो। तर पेनाल्टीमा फ्रान्समाथि हाबी भएपछि रोजारियोका मुख्य चोकहरुमा मानवसागर ओर्लियो।

अर्जेन्टिनाको तेस्रो ठूलो सहर रोजारियोको ‘नेसनल फ्लाग मेमोरियल’ मा हजारौँ अर्जेन्टाइन राष्ट्रिय झण्डा बोकेर भेला भएका थिए। मेस्सीले उपाधि उचालीसकेपछि भेला हुने स्थानीयको संख्या झनै बढेको थियो।

रोजारियोको स्थानीय फुटबलमा रोजारियो सेन्ट्रल र नुएल्सबीच गहिरो प्रतिद्वन्द्विता छ। तर आइतबार विश्वकप जितेको खुसीयाली मनाउँदा भने प्रतिद्वन्द्वितालाई बाहिरै राखियो। ‘यो फुटबलले ल्याएको पागलपन हो। हामी आज सबै एक भएर खुसीयाली मनाइरहेका छौँ,’ २६ वर्षीय जेरेमियास रेगोलोले भने।

अर्जेन्टिनाका लागि यो तेस्रो विश्वकप उपाधि हो। पछिल्लो पटक अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जितेको थियो। यस्तोमा नयाँ पुस्ताका लागि यो उनीहरुको जीवनकै पहिलो विश्वकप सफलता हाे। ‘अर्जेन्टिनाका लागि यो असाध्यै ठूलो सफलता हो। यो सफलताले हामी सबैलाई एक दिशामा लाग्न प्रेरणा दिन्छ,’ २८ वर्षकी मिकाइला जुन्कोले भनेकी छन्।

मेस्सी र डि मारियो रोजारियो सहरका भएकाले पनि जुन्को झनै खुसी भएकी छन्। ‘उनीहरुले अर्जेन्टिनालाई विजेता बनाउन महत्त्वपूर्ण भूमिका खेले। यो प्रमाण हो, रोजोरियो सहरले उत्कृष्ट खेलाडी जन्माउँछ,’ जुन्कोले भनिन्।

अर्जेन्टिनाले विश्वकपमा यस्तोबेला सफलता हासिल गरेको छ जतिबेला ऊ आर्थिक समस्यासँग जुधिरहेको छ। हाल अर्जेन्टिनामा विश्वकै उच्च मुद्रास्फीति दर छ। ‘यो देशले धेरै अप्ठ्यारा स्थितिको सामना गरिरहेको छ। यसकारण यो विश्वकप हामीले जित्नै पर्ने थियो, ताकि हामीसँग खुसी हुने कारण होस्,’ स्थानीय युवा रोड्रिगा मेडिना भन्छिन्, ‘हामीसँग खुसी हुने अर्को कारण पनि छ, त्यो हो रोजारियोका दुई स्टारले निर्वाह गरेकाे भूमिका।’

एपीबाट

प्रकाशित: ४ पुष २०७९ १०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =