कम्बल वितरण गर्ने तयारी

हिमाल प्रेस २ पुष २०७९ ९:५७
6
SHARES
कम्बल वितरण गर्ने तयारी

जनकपुरधाम- शीतलहर र चिसो बढेसँगै मधेश प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ।

शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्यांक संकलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।

प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन समितिको बैठकबाट शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्यांक संकलन गर्ने र त्यही आधारमा कम्बल वितरण गरिने निर्णय भएको मन्त्री साहले बताए।

‘चिसोबाट प्रभावितको लागि न्यानो लुगा र कम्बलको जोहो गरिरहेका छौँ’, मन्त्री साहले भने, ‘चिसोबाट प्रभावितलाई कम्बल वितरणको तयारी थालेका छौँ, स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाइनेछ ।’

यसबाहेक प्रदेश सरकारले चिसोबाट जोगिन सन्देशमूलक सूचनासमेत प्रचारप्रसार गर्दै आएको मन्त्री साहको कथन थियो। यस वर्ष चिसोको कारण मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणको कामसमेत अघि बढाउन समन्वय भइरहेको उनले बताए।

‘शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौँ’, मन्त्री साहले भने,‘चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ।’

विगतमा जाडो बढेपछि चोकचोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको छ र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहले बताए।

चिसो बढेसँगै सुरक्षाकर्मीले विभिन्न चोकचोकमा आगो बाल्न दाउरा वितरण थालेका छन्। बर्सेनि चिसोबाट मधेस प्रदेशमा करिब १५ प्रतिशत नागरिक प्रभावित हुने गरेको प्रदेश नीति तथा योजना आयोगको तथ्यांकले देखाएको छ।

‘प्रदेशको कूल जनसङ्ख्यामध्ये करिब १५ प्रतिशत जनसङ्ख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभावित हुने गरेका छन्’, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले भने, ‘अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ्याउने न्यानो लुगा हुँदैन, त्यसैले चिसोबाट कतिपयले ज्यानसमेत गुमाउने गर्छन्।’ हरेक वर्ष हुने शीतलहर र चिसोका कारण अनाहकमा सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्।

प्रकाशित: २ पुष २०७९ ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =