सरकारी जागिरसँगै तरकारी खेतीमा रमाउँदै पाण्डे

हिमाल प्रेस २९ मंसिर २०७९ २०:५६
8
SHARES
सरकारी जागिरसँगै तरकारी खेतीमा रमाउँदै पाण्डे फाइल तस्बिर

मान्म– कालीकोट खाँडाचक्र नगरपालिका ३ का ४९ वर्षीया जयप्रकाश पाण्डे पेसाले सरकारी जागिरे हुन्। तर उनी फुर्सदको समयमा घरमा नै बेमौसमी तरकारी खेती गर्दै छन्। नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय कालीकोटमा फोरम्यानको सरकारी जागिर पेसा गरिरहेका पाण्डेले खाँडाचक्र ३ ताडीगाउँमा बेमौसमी तरकारी खेती गरिरहेका छन्।

०६२ सालमा प्राधिकरण शाखा कार्यालयबाट सरकारी सेवा सुरु गरेका पाण्डे फुर्सदको समयका गाउँमा नै बेमौसमी तरकारी खेती गरेर आम्दानी गरिरहेका छन्। ‘कार्यालयबाट बचेको समय, बिदाको दिन र बिहान बेलुका घरमा नै तरकारी खेती गर्छु,’ उनले भने, ‘यसबाट आम्दानी र घरपरिवार चलाउनका लागि व्ययभार कम भएको छ।’

पाण्डे गाउँमा बेमौसमी तरकारी खेती, आलु, टमाटर, मुला, गाँजर, फर्सीलगायतका तरकारी खेती गर्ने गरेको उनले बताए। ‘कालीकोटको सरदमुकाम बजार मान्मनजिकै रहेको छ,’ उनले भने, ‘बजारको मागअनुसार मैले विभिन्न खाले तरकारी खेती गर्ने गरेको छु।’

आफ्नै बारीको १० हेक्टर जमिनमा तरकारी खेती गर्ने गरेको र त्यसमा परिवारले सघाउने गरेको पाण्डेले बताए। ‘फुर्सदको समयमा मैले काम गरेको छु। यसमा परिवारका अन्य सदस्यले पनि काम गर्नुहुन्छ,’ उनले भने, ‘सरकारी जागिरले मात्र परिवार पाल्न सकिँदैन। त्यसैले पनि तरकारी खेती गर्ने गरेको छु।’

सरकारी जागिरको सिलसिलामा ०७३/७४ सालमा दुई वर्ष मुगु जिल्लामा रहँदा घरमा तरकारी खेती श्रीमतीले गरेको र अहिले आफू घरनजिकै रहँदा आफूले फुर्सदको समयमा तरकारी खेती गर्ने गरेको पाण्डेको भनाइ छ।

तरकारी उत्पादन गर्न सकेमा बजारीकरणको समस्या नभएको पाण्डेले जानकारी दिए। ‘कर्णाली राजमार्गनजिकै भएका कारणले सुर्खेत, जुम्ला तथा कर्णाली राजमार्गका अन्य बजारमा बजारीकरण गर्न सकिन्छ,’ उनले भने।

तरकारी खेती आम्दानीको स्रोत भएको र वार्षिक रु एक लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म कमाइ हुने गरेको पाण्डेले बताए। ‘सरकारी सेवामा नहुँदा हाम्रो प्रमुख काम नै कृषिकर्म थियो। बारीमा गहुँ, मकै, कोदो धानजस्ता अन्नबाली रोप्ने गरेका थियौँ,’ उनले भने, ‘पछिल्लो समय अन्नबालीभन्दा बेमौसमी तरकारी खेती गर्ने गरेका छौं।’

कालीकोटका बेमौसमी तरकारी खेती गर्नेको संख्या पनि वृद्धि हुँदै गएको उनको भनाइ छ।

प्रकाशित: २९ मंसिर २०७९ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =