देउवा भन्छन् : विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ

हिमाल प्रेस २९ मंसिर २०७९ १६:४९
28
SHARES
देउवा भन्छन् : विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ फाइल तस्बिर

बनेपा- प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन्।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौं विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको बताए।

‘विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पुर्‍याउने पवित्र शैक्षिक केन्द्र हो,’ उनले भने, ‘विश्वविद्यालयहरु राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ।’

नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभएर विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पुर्‍याउँदै आउनु सबैका लागि गर्वको विषय भएको बताए।

उनले काठमाडौँ विश्वविद्यालयका विभिन्न सङ्कायमा दीक्षित भएका विद्यार्थीलाई बधाई व्यक्त गरे। भविष्यमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने उनले अपेक्षा व्यक्त गरे।

सो क्रममा उनले काठमाडौँ विश्वविद्यालयबाट पहिलो पटक मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा ६ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एकजना गरी सात जनालाई उपाधि प्रदान गरे।

एक हजार ६९९ विद्यार्थी दीक्षित

काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर र विद्यावारीधिका गरी एक हजार ६९९ जना विद्यार्थी दीक्षित भएका छन्।

प्रधानमन्त्री तथा कूलपति देउवाको अध्यक्षता तथा वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकूलपति देवेन्द्र पौडेलको उपस्थितिमा पहिलो चरणको समारोहमा मानविकी, शिक्षा, इञ्जिनियरिङ, कानुन, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी एक हजार ६०६ जनासहित एक हजार ६९९ जना विद्यार्थी दीक्षित भएको काठमाडौंं विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका अनुसार मानविकीका २२०, शिक्षाका २०२, इञ्जिनियरिङका २६, कानुनका ४० जना, व्यवस्थापनका ४५२, स्वास्थ्य विज्ञानका ७१२ जना र विज्ञान संकायका ३७ जना विद्यार्थी दीक्षित भएका छन्।

दीक्षित हुने विद्यार्थीमध्ये ७३४ जना पुरुष र ९६५ जना महिला छन् । दीक्षित हुनेमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स, पोर्चुगल, रूस, सिङ्गापुर, स्पेन, श्रीलङ्गा, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १८६ जना विदेशी विद्यार्थीसमेत रहेका विश्वविद्यालयले जनाएको छ। यस विश्वविद्यालयबाट ४० हजार ३५ जना उत्तीर्ण भइसकेका छन्। रासस

प्रकाशित: २९ मंसिर २०७९ १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =