कमल चित्रकार जसले ‘फेलो ट्राभलर’ देउवालाई कांग्रेस बनाए

हिमाल प्रेस २९ मंसिर २०७९ १५:५८
266
SHARES
कमल चित्रकार जसले ‘फेलो ट्राभलर’ देउवालाई कांग्रेस बनाए

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारको ८२ वर्षको उमेरमा निधन भएको छ। कांग्रेसका पुराना नेता चित्रकार २०१६ सालमा नेपाल तरुण दलको महामन्त्री भएका थिए।

२००७ सालदेखि २०३६ सालसम्म प्रजातान्त्रिक आन्दोलनमा सक्रिय चित्रकार समकालीन कांग्रेस नेताहरूका आदर्श रहेको कांग्रेसका पुराना नेता वीरेन्द्रभक्त श्रेष्ठ बताउँछन्। कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रजातान्त्रिक विचारतर्फ आकर्षित गर्न चित्रकारको विशेष भूमिका रहेको श्रेष्ठको भनाइ छ।

२०२१ सालमा उपत्यकाव्यापी विद्यार्थी आन्दोलन भएको थियो। आन्दोलनका क्रममा चित्रकार, शेरबहादुर देउवा, लोकराज पन्त लगायत पक्राउ परेका थिए। श्रेष्ठ भन्छन्, ‘आन्दोलनमा सहभागी भएर गिरफ्तार हुनुअघिसम्म शेरबहादुर देउवा ‘फेलो ट्राभलर’ हुनुहुन्थ्यो।’

उनका अनुसार त्यतिबेला कम्युनिस्ट पार्टीको सदस्यता लिन लागेका व्यक्तिहरूलाई ‘फेलो ट्राभलर’ भनिन्थ्यो। थुनामा परेपछि देउवा चित्रकारसँग प्रभावित भएको श्रेष्ठको भनाइ छ। उनी भन्छन्, ‘सरल व्यवहारका चित्रकार अरूसँग चाँडै घुलमिल हुनुहुन्थ्यो।’

श्रेष्ठ विद्यार्थी नेताहरू जेलबाट छुटेलगत्तै आफूले चित्रकारसँग शेरबहादुरलगायत विद्यार्थी साथी प्रभावित भएको बताएको स्मरण गर्छन्। उनी भन्छन्, ‘त्यसपछि शेरबहादुर देउवा, लोकराज पन्त र अरुण श्रीवास्तवलाई मैले चित्रकारकहाँ लिएर गएँ। कमल दाइसँग राजनीतिक छलफल गरेपछि देउवा, पन्त र श्रीवास्तव प्रजातान्त्रिक विचारधारातिर नजिक हुनुभयो।’

नेपाल तरुण दलका पूर्वमहामन्त्री कमल चित्रकारको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा।

श्रेष्ठका अनुसार त्यति बेला विद्यार्थी संगठनमा वामपन्थी विचारधाराका विद्यार्थीहरूको वर्चस्व थियो। प्रजातान्त्रिक विद्यार्थी संगठनलाई बलियो बनाउन पनि आफूले देउवालाई चित्रकारसँग भेट गराएको उनले बताए।

चित्रकारको राजनीतिक संलग्नता ०१४ सालको भद्र अवज्ञा आन्दोलनबाट हो। चारखाल गेटमा आयोजित भद्र अवज्ञा आन्दोलनको नेतृत्व चित्रकारका साथै लक्ष्मण राजवंशी, लक्ष्मीभक्त श्रेष्ठलगायतले गरेको श्रेष्ठ स्मरण गर्छन्।

२०१७ पुस १ गते थापाथलीमा तरुण दलको पहिलो अधिवेशन चलिरहेका बेला कांग्रेसका नेता एवं तत्कालीन प्रधानमन्त्री बीपी कोइराला, निर्माण यातायातमन्त्री गणेशमान सिंह, गृहमन्त्री सूर्यप्रसाद उपाध्याय, सभामुख कृष्णप्रसाद भट्टराई र चित्रकार पक्राउ परेका थिए।

श्रेष्ठ भन्छन्, ‘नेताहरूलाई गिरफ्तार गरेको केही समयपछि मञ्चबाटै केही शब्द बोलेर कमल चित्रकार (तरुण दलका महामन्त्री) ले नाराबाजी गर्न थाल्नुभयो। उहाँले ‘शाही कदम चालिएको’ भन्दै त्यसको विरोधमा नाराबाजी गर्नुभएको थियो। त्यसपछि प्रहरी हस्तक्षेप भयो। नाराबाजी गर्दागर्दै उहाँ पनि समातिनुभएको थियो।’ चित्रकार पटकपटक गरी चार वर्ष जेल परेको श्रेष्ठ बताउँछन्।

विद्यार्थी आन्दोलनमार्फत निरंकुशताविरुद्ध उभिएका चित्रकार २०३८ सालमा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमाडौँ महानगरको प्रधानपञ्च बनेका थिए। त्यसपछि भने उनी राजनीतिमा सक्रिय थिएनन्। चित्रकार २०२१ मा विद्यार्थी युनियनको अध्यक्ष भएका थिए।

पञ्चातकालमा सबै नेताहरू जेलमा रहेका बेला कांग्रेसको संगठन निकै खुम्चिएको थियो। त्यो बेला संगठन विस्तार गरेर योगदान दिएका चित्रकारलाई कांग्रेस पार्टीले सम्मान गर्न कञ्जुस्याइँ गरेको जानकारहरू बताउँछन्।

यसैबीच नेपाली कांंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चित्रकारको पार्थिव शरीरमाथि कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। चित्रकारलाई अन्तिम श्रद्धाञ्जली दिन कांग्रेसका नेताहरू, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलगायत पशुपति पुगेका थिए। चित्रकारको बुधबार नै अन्त्येष्टि गरिएको छ। उनका दुई छोरा र दुई छोरी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =