एन्टोइन ग्रिजमन : फरक भूमिका तर उस्तै प्रदर्शन

हिमाल प्रेस २८ मंसिर २०७९ २०:४७
88
SHARES
एन्टोइन ग्रिजमन : फरक भूमिका तर उस्तै प्रदर्शन

तीन महिनाअघिसम्म एन्टोइन ग्रिजमन एट्लेटिको म्याड्रिडको बेन्च खेलाडीका रुपमा सीमित थिए। त्यसमाथि क्लबसँगको सम्झौता विवाद। विश्वकप सुरु हुनै लाग्दा समस्यामा परेका ग्रिजमन अहिले भने रमाइरहेका छन्। यसको कारण हो, विश्वकपमा फ्रान्सका लागि उनले गरिरहेको प्रदर्शन।

चार वर्षअघि फ्रान्स विश्व विजेता बन्दा टिमका मुख्य खेलाडी किलियान एम्बाप्पे मात्र थिएनन्। ग्रिजमनको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण थियो। यसपालि पनि फ्रान्सका लागि एम्बाप्पे लगातार गोल गरिरहेका छन्। उनीसँगै ओलिभर जिरुडको प्रदर्शन पनि उम्दा छ।

सबैको ध्यान यी दुई खेलाडीमाथि छ। तर फ्रान्स सेमिफाइनलसम्म पुग्दा ग्रिजमनले बिर्सनै नसकिने खेल देखाइरहेका छन्। विपक्षी टिमका प्रशिक्षकले समेत ग्रिजमनको प्रशंसा गरेका छन्। ‘ग्रिजमन असाधारण खेलाडी हुन्। उनले जसरी खेलिरहेका छन्, त्यसबारे मैले धेरै व्याख्या गरिरहनै पर्दैन,’ फ्रान्ससँगको क्वार्टरफाइनलअघि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले भनेका थिए।

यो विश्वकपमा ग्रिजमनको भूमिका फेरिएको छ। उनी गोल गर्नेभन्दा गोलका अवसर सिर्जना गर्ने जिम्मेवारीमा छन्। फेरिएकाे जिम्मेवारीमा उनी कति प्रभावकारी देखिएका छन् भनेर इंग्ल्यान्डसँगको खेल याद गरे पुग्छ। फ्रान्सका दुवै गोल ग्रिजमनकै पासमा सम्भव भएका थिए।

३१ वर्षीय ग्रिजमन रुस विश्वकपमा तेस्रो उत्कृष्ट खेलाडी चुनिएका थिए। उनले ‘ब्रोन्ज बल’ पाउँदा लुका मोड्रिच र एडेन हाजार्डले क्रमशः ‘गोल्डन बल’ र ‘सिल्भर बल’ पाएका थिए। यसपालि भने मोड्रिच र हाजार्ड विश्वकपबाट बाहिरिसकेका छन्। अन्य स्थापित खेलाडीले पनि भनेजस्तो प्रदर्शन गर्न सकेका छैनन्, लियोनल मेस्सीलगायतका केहीलाई छाडेर। यस्तोमा फ्रेन्च समर्थकको आश छ, उत्कृष्ट खेलाडी बन्ने दौडमा ग्रिजमन अग्रस्थानमा हुनेछन्।

फेरि यो आश फ्रान्सले विश्वकप जिते थप बलियो हुनेछ। विश्वकप ट्रफीबाट फ्रान्स दुई खेल टाढा छ। बुधबार राति मोरोक्कोलाई पन्छाए फ्रान्स फाइनलमा अर्जेन्टिनासँग भिड्नेछ।

ग्रिजमन सन् २०१४ बाट लगातार फ्रेन्च राष्ट्रिय टिमबाट खेलिरहेका छन्। सन् २०१०/११ बाट स्पेनिस ला लिगामा छन्। एक दशकभन्दा लामो व्यवसायिक करियरमा उनले फरक फरक पोजिसनमा खेलेका छन्। विंग, सेन्ट्रल फरवार्ड वा नम्बर १०/ प्लेमेकर, उनी जहाँ पनि फिट हुन्छन्। रुस विश्वकपमा उनी जिरुडको पछाडि रहेर खेले, नम्बर १० बनेर।

यसपालि भने उनी मुख्यतया सेन्ट्रल मिडफिल्डरको भूमिकामा छन्। पउल पोग्बा र एन्गोलो कान्टे चोटका कारण कतार नपुगेपछि ग्रिजमनले नम्बर १० बाहेक मिडफिल्डरको पनि जिम्मेवारी बहन गर्नु परेको हो। दुवै पोजिसनमा उनी खरो उत्रन सकेका छन्।

फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाम्प्स ग्रिजमन मिडफिल्डमा खेल्न सक्षम रहेको बताउँछन्। ‘उनको बल नियन्त्रण गर्ने क्षमता गजबको छ। उनको उत्कृष्ट पासर हुन्। उनले गोल गरिरहन नसक्लान्। तर टिमका लगि आवश्यक पर्ने धेरै कुरा उनी गर्न सक्छन्। ट्याकल गर्नेदेखि फ्रिकिक प्रहार गर्नेसम्ममा उनी संलग्न भइरहेका छन्,’ पूर्वमिडफिल्डर डेस्चाम्प्स भन्छन्।

जारी विश्वकपमा ग्रिजमनले तीन असिस्ट दर्ता गरिसकेका छन्। गोलका १७ अवसर सिर्जना गरेका छन्। तथ्यांकमा थप घोत्लिने हो भने निचोड यस्तो निस्किन्छ, ग्रिजमनले विश्वकपमा आफूलाई उत्कृष्ट प्लेमेकरमध्येका एकका रुपमा स्थापित गरेका छन्। कतारमा ग्रिजमनका अलावा ह्यारी केन र ब्रुनो फर्नान्डेजकाे नाममा पनि तीन–तीन असिस्ट छ। तर ग्रिजमनले अबको एक वा दुई खेलमा यी दुईलाई उछिन्ने सम्भावना छ।

रुस विश्वकपमा सबैभन्दा धेरै असिस्ट ग्रिजमनको नाममा थियो। उनले ११ पटक गोलका अवसर सिर्जना गरेका थिए। तर यसरी गोलका अवसर सिर्जना गर्ने मामलामा ग्रिजमनभन्दा मोड्रिच अगाडि रहे।

यसपल्ट उनले पहिलेको भन्दा बढी अवसर सिर्जना गर्नुको कारण हो, परिवर्तित पोजिसन। ‘म स्वतन्त्रपूर्वक खेलिरहेको छु। अहिले मेरो मुख्य जिम्मेवारी रक्षापंक्तिलाई अग्रपंक्तिसँग जोड्ने हो। मेरा अगाडि एम्बाप्पे, जिरुड र डेम्बेले हुन्छन्। उनीहरुका लागि धेरैभन्दा धेरै पास निकाल्ने ध्येयमा हुन्छु,’ ग्रिजमनले आफ्नो नयाँ भूमिकाबारे भनेका छन्।

ग्रिजमनसँगै आड्रियान राबियोट र टुचमनी फ्रान्सका अरु दुई मिडफिल्डर हुन्। यी तीनले ट्युनिसियासँगको खेललाई छाडेर बाँकी सबैमा साझेदारी गरेका छन्। यो विश्वकपमा तीन मिडफिल्डरमध्ये ग्रिजमनले मात्र गोलको खाता खोल्न सकेका छैनन्। उसो त उनकाे आक्रमकतामा पनि केही हदसम्म कमी आएको छ। रुस विश्वकपमा विपक्षीको पोस्टमा २२ पटक प्रहार गरेका ग्रिजमनले यसपालि ६ पटक मात्र प्रहार गरेका छन्।

बार्सिलोना तथा रियल सोसिडाडका पूर्वफरवार्ड ग्रिजमनका लागि यो तेस्रो विश्वकप हो। फ्रेन्च टिमका लागि एक सय १५ खेल खेलिसकेका उनले अन्तर्राष्ट्रिय फुटबलमा बिरलै खराब प्रदर्शन गरेका छन्। फुटबल विश्लेषक के भन्छन् भने, ग्रिजमन फ्रेन्च टिममा सधैँ अरु खेलाडीको छायामा पर्ने गरेका छन्।

सन् २०१८ को विश्वकपमा एम्बाप्पेको छायामा परेका ग्रिजमन यसपल्ट पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको हेडलाइन बन्न सकेका छैनन्। तर जे होस् उनी दुई महान् खेलाडीले राखेको कीर्तिमान बराबरी गर्ने संघारमा छन्। हालसम्म विश्वकपमा लगातार दुई पटक उत्कृष्ट खेलाडीको सूचीमा पर्ने खेलाडी अर्जेन्टिनाका डिएगो म्याराडोना र ब्राजिलका रोनाल्डो मात्र हुन्। गोल्डन बल पाउने दौडमा रहेका ग्रिजमन एकपल्ट फेरि उत्कृष्ट तीनको सूचीमा परे म्याराडोना र रोनाल्डोको कीर्तिमान बराबर हुनेछ।

रुसमा ग्रिजमनले चार गोल गर्न भ्याए। त्यसले उनलाई सिल्भर बुट दिलायो। लगातार दोस्रो विश्वकपमा चम्किरहेका ग्रिजमनले युरो २०१६ मा समेत प्रभावशाली प्रदर्शन गरेका थिए। ६ गोल गरेर गोल्डन बुट जितेका उनी त्यस महादेसीय प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि चुनिए।

ग्रिजमन फ्रान्सका लागि कति महत्त्वपूर्ण छन्? यो प्रश्नको जवाफ फ्रान्सले खेलेका पछिल्ला ७२ खेलमा ग्रिजमन नछुट्नुले दिन्छ। जुन २०१७ यता ग्रिजमनले फ्रान्सबाट लगातार खेलिरहेका छन्। यो आफैँमा कीर्तिमान हो। फ्रान्सका लागि यसअघि प्याट्रिक भिएराले लगातार ४४ खेल खेलेका थिए।

ग्रिजमनले फ्रान्सको जर्सीमा ४२ गोल गरेका छन्। उनीभन्दा बढी गोल गर्ने जिरुड र थिएरी अन्री मात्र हुन्। ग्रिजमनको नाममा २८ असिस्ट छ। यो फ्रान्सका लागि कुनै पनि खेलाडीले दर्ता गरेको सर्वाधिक असिस्ट हो।

विश्वकप र युरोमा ११ गोल गरेका ग्रिजमनको क्लब करियर भने उतारचढावले भरिएको छ। स्पेनका तीन क्लबबाट चार सय ७४ खेल खेल्दा एक सय ७० गोल गरेका उनले लिग भने जित्न सकेका छैनन्। एट्लेटिको छाडेर सन् २०१९ मा बार्सिलोनासँग आबद्ध भएका ग्रिजमनले त्यहाँ एक पटक कोपा डेल रे जिते। बार्सिलोनामा अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि एट्लेटिको फर्किएका ग्रिजमनले गत सिजन तीन गोल गर्न सके। यो सिजन पनि उनको सुरुवात भनेजस्तो हुन सकेन।

क्लब करियरमा ग्रिजमन अभागी देखिएका छन्। जब उनी एट्लेटिकोमा थिए तब बार्सिलोनाले उपाधि जितिरहेको थियो। एट्लेटिकोले अन्ततः २०२०/२१ मा लिग जित्यो। तर त्यसबेला उनी दुर्भाग्यवश बार्सिलोनासँग आबद्ध भइसकेका थिए।

बार्सिलोनाले १० करोड पाउन्ड खर्च गरेर ग्रिजमनलाई अनुबन्ध गरेको थिए। त्यहाँ दुई सिजन खेल्दा ग्रिजमनले एक सय दुई खेलमा ३५ गोल गर्न सके। सन् २०२०÷२१ सिजनमा १३ लिग गोल गरे पनि उनलाई बार्सिलोनाले तेस्रो सिजन राखेन। त्यसपछि उनी एट्लेटिको फर्किए।

गत सिजन लिगका २६ खेलमा तीन गोल गरेका ग्रिजमनलाई यसपालि सुरुका ११ खेलमध्ये आठमा पहिलो एघारमा राखिएन। उनी सब्स्टिच्युटको भूमिकामा खुम्चिनुका कारण हो, क्लबसँगको विवाद। तर विश्वकपका लागि कतार उड्नुअघि भने उनी एट्लेटिकोको पहिलो रोजाइको टिममा फर्किइसकेका छन्।

के अनुमान गर्न सकिन्छ भने, विश्वकपमा ग्रिजमनले गरिरहेको प्रदर्शनलाई एट्लेटिकोले नजरअन्दाज गरेको छैन। फ्रान्सका लागि साविकको भन्दा फरक पोजिसनमा खेलिरहेका ग्रिजमनलाई डिएगो सिमओनेले कसरी उपयोग गर्लान्? ‘नम्बर १०’ का रुपमा वा सेन्ट्रल मिडफिल्डमा? यो प्रश्नको जवाफको पखाईमा यतिबेला एट्लेटिको र फ्रान्सका समर्थक छन्।

प्रकाशित: २८ मंसिर २०७९ २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eighteen =