इलाममा फस्टाउँदै एवोकाडो खेती, उत्पादनसँगै माग पनि उच्च

पहिले मिठो लागेन, अहिले बोटबाटै बिक्री हुन्छ

हिमाल प्रेस २६ मंसिर २०७९ १६:०४
6
SHARES
इलाममा फस्टाउँदै एवोकाडो खेती, उत्पादनसँगै माग पनि उच्च

मंगलबारे– पछिल्लो समय इलाममा एवोकाडो खेती निक्कै फस्टाएको छ। हाल इलाममा विभिन्न गाउँका किसानले एभोकाडोको व्यवसायिक खेती सुरु गरेका छन्।

बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेपछि किसानहरू यसको खेतीतर्फ आकर्षित भएका छन्। निकै महँगो फलको सूचीमा पर्ने यो फल इलाममा प्रायः सबै गाउँमा उत्पादन भइरहको छ।

यस फलको व्यावसायिक उत्पादन रोङ गाउँपालिकादेखि भएको स्थानीयहरू बताउँछन्। इलाममा नै पहिलो पटक उक्त गाउँपालिकाको सलकपुरमा बिरुवा रोप्न थालिएको बताइएको छ।

०४५ सालमा पहिलो पटक एवोकाडोको बिरुवा रोप्न थालिएको स्थानीहरूको भनाइ छ। सुरुमा धेरैलाई यसको स्वाद मन पर्दैनथ्यो र तर पछिल्लो समय स्वास्थ्यलाई समेत राम्रो मानिएकाले यो फल उपभोग गर्नेको संख्यामा वृद्धि भएको छ।

हाल बोटमा नै आएर व्यापारीले मोलमोलाई गरेर खरिद गर्न थालेपछि गाउँमा फुटकर रूपमा बिक्री गरिरहनु नपरेको स्थानीय किसानहरू बताउँछन्। यसको माग व्यापक वृद्धि हुँदै गएकाले छिटो सकिने गरेको सलकपुरका किसान ईश्वरी अधिकारीले बताए।

उनका अनुसार गतवर्ष २ वटा बोटमा जेनेतेन ८० किलो उत्पादन भएको थियो। यसवर्ष सोही बोटमा करिब २ सय पचास किलो उत्पादन भएको छ। बोटबाट नै प्रतिकिलो २ सयमा खरिद बिक्री हुने यो फल नेपालीमात्र होइन छिमेकी देश भारतबाट आउने पाहुनाले समेत खरिद गरेर लैजाने गरेको किसानको भनाइ छ।

विभिन्न देशकै पनि धेरै स्थानबाट माग बढ्दै गएको एग्रो बबना कटेजका सञ्चालक याम अधिकारीले बताए। यसवर्ष उत्पादन वृद्धि भएको उनले बताए। साना बिरुवा रोप्ने क्रम बढी रहेकाले पनि बर्सेनि यसको उत्पादनमा वृद्धि हुँदै गएको उनले बताए।

हाल उत्पादन र मागसमेत बढेको साथै गाउँभर प्रायः सबैको बगानमा यसको उत्पादन भइरहेको किसान कल्पना भण्डारीले बताइन्। पौष्टिक र प्रोटिनयुक्त यो फल सुरुमा चाना काटेर रोटीमा दलेर खाने गरिएको भए पनि अहिले यसको अतिरिक्त जुस बनाएरसमेत खाने गरिएको छ।

करिब २ वर्षअघि रोङ गाउँपालिकाले किसानको मागअनुसार अनुदानमा बिरुवासमेत वितरण गरेको स्थानीय पत्रकार गोविन्द पौडेलले जानकारी दिए।

प्रकाशित: २६ मंसिर २०७९ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =