महामन्त्री शर्माले उठाए शेरबहादुर देउवामाथि नैतिकताको प्रश्न

हिमाल प्रेस २५ मंसिर २०७९ २२:५९
336
SHARES
महामन्त्री शर्माले उठाए शेरबहादुर देउवामाथि नैतिकताको प्रश्न

काठमाडौँ- कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले पार्टीसभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवामाथि नैतिकताको प्रश्न जोडिएको बताएका छन्। सरकारले टिकापुर हत्याकान्डका दोषी रेशम चौधरीसहितका नेतालाई माफी दिने गरी अध्यादेशमार्फत कानुन संसोधन गर्न लागेपछि कांग्रेस महामन्त्री शर्माले देउवामाथि नैतिकताको प्रश्न जोडिएको बताएका हुन्।

अध्यादेशबारे पार्टीभित्र छलफल नगरेको भन्दै उनले आपत्ति जनाएका छन्। देउवामाथि कानुनी र राजनीतिकमात्रै नभई नैतिकताको प्रश्न उठेको भन्दै आलोचना गरेका छन्।

‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य! त्यसैले सार्वजनिक दर्ज होस् असहमति। संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत,’ प्रधानमन्त्री देउवालाई मेन्सन गर्दै उनले सामाजक सञ्जालमा लेखेका छन्, ‘कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ।’

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरी, नेत्रविक्रम चन्द नेतृत्वका कार्यकर्ता र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई माफी दिने गरी कानुन संशोधन गर्न अध्यादेश ल्याएको छ। अध्यादेश आइतबार नै राष्ट्रपति कार्यालय पुगिसकेको छ। सरकारले राजनीतिक मुद्दा टुंगो लगाउने भन्दै राजनीतिक समूहका मुद्दा फिर्तासम्बन्धी अध्यादेश ल्याएसँगै चौतर्फी आलोचना भइरहेको छ।

देउवाले वर्तमान सत्तागठबन्धनकै बलमा नयाँ सरकार गठन गर्न र चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन चाहेका छन्। देउवा आफैँ पुन: प्रधानमन्त्री हुने इच्छाका साथ तयारी गरिरहेका छन्। उक्त पार्टीले पनि चौधरीको मुद्दा फिर्ता भए सरकारमा जाने बताएको छ।

प्रकाशित: २५ मंसिर २०७९ २२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =