पहिले सामान बोक्थे अहिले पर्यटक बोक्छन् घोडा

हिमाल प्रेस २५ मंसिर २०७९ १२:५१
6
SHARES
पहिले सामान बोक्थे अहिले पर्यटक बोक्छन् घोडा तस्बिरः अमृत गुरुङको फेसबुकबाट।

म्याग्दी- सडक विस्तार नहुँदासम्म छिटो गन्तव्यमा पुग्न घोडाको विकल्प थिएन। घोडा चढ्नु र पाल्नुलाई व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरिन्थ्यो। केही वर्ष अघिसम्म यातायातका साधनका रूपमा प्रयोग हुने घोडा अहिले सडक विस्तारसँगै विस्थापित भएका छन्।

घोडाको ठाउँ मोटरसाइकल र गाडीले लिएका छन्। घोडामा चढ्ने र सामान ढुवानी गर्ने चलन अहिले घटेको छ। घोडाको प्रयोग हिजोआज फेरिएको छ। तर पर्यटकका लागि भने घोडा आकर्षण बनेको छ।

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका याम पुन पर्यटकलाई गन्तव्यमा पुर्‍याउनका लागि घोडाको माग बढ्न थालेको बताउँछन्। ‘घोडा चढेर यात्रा गर्न पर्यटकले रुचाएका छन्,’ उनले भने, ‘सडक भएपछि सामान बोक्न र हामीले चढ्न प्रयोग गरेका घोडालाई अहिले पर्यटक बोक्न प्रयोग गरेका छौँ।’

घोडेपानीदेखि घान्द्रुक र नयाँपुलदेखि घोडेपानी आवतजावत गर्ने पर्यटकलाई घोडामा चढाएर आयआर्जन गर्ने माध्यम बनेको छ। घोडेपानीका ६ वटा होटलले पर्यटकलाई चढाउनका लागि २५ घोडा पालेका छन्। पर्यटकलाई घोडामा चढाएर घोडेपानीदेखि घान्द्रुक पुर्‍याएको १५० डलर शुल्क तोकिएको छ।

‘कोही पर्यटकले ५००/६०० डलर तिरेर दुई तिन दिनसम्मका लागि घोडा भाडामा लिएर घुम्न लैजान्छन्,’ घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले भने, ‘हेलिकप्टर जान नसक्ने ठाउँमा घाइते भएका र फसेका पर्यटकको उद्धारमा पनि घोडा प्रभावकारी बनेको छ।’

अशक्त र हिँड्न गाह्रो भएरभन्दा पनि रमाइलोका लागि घोडा चढ्ने गरेका पुनले बताए। पर्यटकका लागि पुनले ६ वटा घोडा पालेका छन्। घोडेपानीका साथै कास्कीको पर्यटकीयस्थल घान्द्रुकबाट छोमरोङ, अन्नपूर्ण आधार शिविरतर्फ जाने पर्यटकले पनि घोडाको प्रयोग गर्ने गरेका घोडा व्यवसायी अमित गुरुङले बताए।

घान्द्रुकमा घोडा चढेबापत प्रतिदिन १०० देखि ११० डलर शुल्क तोकिएको उनले बताए। पर्यटक बोक्न घोडालाई भ्याइनभ्याइ भएको अर्का व्यवसायी हितमान गुरुङले बताए।

घोडचढीप्रति पर्यटकको रुचि र आकर्षण बढेपछि घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने घोडा मार्ग बनाइएको घोडेपानीका होटल व्यवसायी सुशील पुनले बताए। जंगलभित्र घोडा चढेर आवतजावत गर्न मिल्ने तीन किलोमिटर घोडामार्ग र प्यारीबाराही ताल परिसरमा तबेला बनाइएको छ।

प्रकाशित: २५ मंसिर २०७९ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =