फ्रान्सविरुद्ध इंग्ल्यान्डले प्रयोग गर्नसक्ने चार रणनीति

हिमाल प्रेस २४ मंसिर २०७९ २१:३१
10
SHARES
फ्रान्सविरुद्ध इंग्ल्यान्डले प्रयोग गर्नसक्ने चार रणनीति

काठमाडौँ- विश्वकप २०२२ को अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्ड र फ्रान्स आमनेसामने हुँदैछन्। शनिबार राति कतारी सहर अल खोरस्थित अल बेट रंगशालामा हुने यो खेल जित्दै फ्रान्स उपाधि रक्षातर्फ लम्किन चाहन्छ। उता इंग्ल्यान्डको नजर पनि उपाधिमै छ।

विश्वकपमा ४० वर्षपछि एकआपसमा भिड्न लागेका यी दुई टिम प्रतिभाशाली युवा खेलाडीले भरिएका छन्। यस्तोमा इंग्ल्यान्डका लागि किलियान एम्बाप्पे टाउको दुखाइ बन्नसक्छन्। जारी विश्वकपमा पाँच गोल गरिसकेका उनलाई रोक्ने मुख्य जिम्मेवारी राइटब्याक कायल वाल्करको हुनेछ।

उसो त भिडन्त वाल्कर र एम्बाप्पेबीच मात्र हुने छैन, मिडफिल्डमा ज्युड बेलिङहम र अउरेलियिन टुचमनी पनि एकआपसबाट बल खोस्ने प्रयत्नमा हुनेछन्। टोटनहमबाट सँगै प्रिमियर लिग खेल्ने इंग्लिस स्ट्राइकर ह्यारी केन र फ्रेन्च गोलरक्षक ह्युगो लोरिसबीचको प्रतिस्पर्धा पनि हेर्न लायकको हुनेछ।

यो खेललाई लिएर अवश्य पनि इंग्लिस र फ्रेन्च समर्थक उत्साहित छन्। खेल कसले जित्छ भन्ने अनुमान गर्न सजिलो छैन। यहाँ भने इंग्ल्यान्डले फ्रान्सलाई हराउन के के गर्न सक्छ भन्ने विषयमा चर्चा गरिनेछ।

ज्युड बेलिङहमको अधिकतम उपयोग

फ्रान्सलाई पछि पार्ने लक्ष्यमा इंग्ल्यान्डका लागि बेलिङहम सबैभन्दा महत्त्वपूर्ण साबित हुन सक्छन्। किशोर उमेरमै रहेका बेलिङहमले कतारी भूमिमा निडर प्रदर्शन गरिरहेका छन्। सामान्यतया बक्स–टु–बक्स मिडफिल्डरका रुपमा देखा पर्ने बेलिङहम फ्रान्सका टुचमनी र आड्रियन राबियोटमाथि हाबी हुने हो भने इंग्ल्यान्डले खेलमा पकड जमाउन सक्छ।

उपाधि दाबेदार मानिएको फ्रान्सका दुई मुख्य मिडफिल्डर जारी विश्वकपमा छैनन्। एन्गोलो कान्टे र पउल पोग्बोको अनुपस्थितिमा टुचमनी र राबियोटले डिफेन्डिङ च्याम्पियनको मिडफिल्ड सम्हालिरहेका हुन्।

क्लब फुटबलमा आआफ्ना टिममा स्थापित यी दुई खेलाडी अन्तर्राष्ट्रिय फुटबलमा भने कम अनुभवी हुन्। यस्तोमा बेलिङहमले डेक्लान राइस र जोर्डन हेन्डरसनको सहयोगमा फ्रान्सको मिडफिल्डलाई चल्न नदिउन् भन्ने आशामा इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेट हुनेछन्।

सेटपिसमा गाेल

फ्रान्सको अखबार एल एक्युपले हालै लेखेको छ, ‘फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाम्प्स आफ्ना खेलाडीले विपक्षीलाई सेट पिसमा रोक्न सक्छन् वा सक्दैनन् भन्ने विषयमा चिन्तित छन्।’ त्यसैले हुनसक्छ पछिल्ला ट्रेनिङ सेसनमा फ्रान्सले ‘सेट पिस डिफेन्डिङ’ मा विशेष ध्यान दिएको बताइँदैछ।

ले एक्युपमा भनिए जस्तै फ्रान्स ‘सेट पिस डिफेन्ड’ गर्ने मामलामा कमजोर देखिए इंग्ल्यान्डका खेलाडीले अवश्य पनि त्यसको फाइदा उठाउने प्रयास गर्नेछन्। ह्यारी मग्वायर जस्ता खेलाडी त्यसै पनि सेट पिसमा गोल गर्न माहिर छन्। इंग्ल्यान्ड सेट पिसमा बलिया छ भनेर फ्रान्सका गोलरक्षक लोरिसले पनि स्वीकार गरिसकेका छन्।

‘इंग्ल्यान्डसँग अग्ला खेलाडी छन्। फ्रिकिक र कर्नर पाउँदा गोलका अवसर सिर्जना गर्ने खेलाडी छन्। यसकारण उनीहरूलाई ‘सेट पिस’मा मार्क गर्न आवश्यक छ। नत्र खेल जतिबेला पनि उनीहरुको पक्षमा जानसक्छ,’ लोरिसले भनेका छन्।

एम्बाप्पेलाई रोक्न विशेष योजना

माथि उल्लेख गरिए जस्तै, एम्बाप्पेलाई रोक्न इंग्ल्यान्डले विशेष योजना बनाएको हुनुपर्छ। यो योजनामा वाल्कर र अन्य रक्षक खरो उत्रनु पर्नेछ। लेफ्ट विंगबाट तीव्र गतिमा बल विपक्षीको बक्समा पुर्‍याउन सक्ने एम्बाप्पेलाई रोक्न सके इंग्ल्यान्डको आत्मविश्वास बढ्दै जानेछ। उसो त एम्बाप्पे पनि वाल्करले सिर्जना गर्नसक्ने अवरोधप्रति जानकार छन्।

समूह चरणको खेलमा अमेरिकी विंगरहरुले इंग्ल्यान्डका लेफ्टब्याक लुक शलाई लक्षित गरी मुभ बनाएका थिए। यसपालि फ्रेन्च फरवार्डले लुक श मात्र होइन वाल्करविरुद्ध पनि त्यस किसिमका मुभ बनाउन सक्छन्। यसो भए यी दुई फुलब्याकलाई तीव्र गतिमा खेल्ने फ्रेन्च फरवार्डहरुको सिकार हुनबाट बचाउन हेन्डरसन र राइस चनाखो हुनु पर्नेछ।

जारी विश्वकपमा फ्रान्सका गोलरक्षक लोरिस मजबुत लयमा छन् वा छैनन् भन्ने विषयमा बहस भइरहेको छ। फ्रेन्च टिमले चार वर्षअघि विश्वकप जित्दा पनि प्रमुख रोजाइका गोलरक्षक लोरिस नै थिए। तर पनि उनको स्तरमाथि प्रश्न गर्नेको संख्या घटेको छैन। फेरि महत्त्वपूर्ण खेलमा गल्ती गर्ने बानी भएका कारण पनि लोरिसमाथि प्रश्न उब्जने गरेको हो।

लोरिसलाई अत्याउने

शनिबारको खेलमा इंग्लिस खेलाडीले लोरिसलाई बारम्बार परीक्षण गर्नेछन्। लोरिसलाई अत्याउन सफल भए इंग्ल्यान्ड खेलमा स्वतः हाबी हुनेछ।

इंग्ल्यान्डसँग तीव्र गतिमा खेल्ने खेलाडीको कमी छैन। बुकायो साका, फिल फोडन, मार्कस रासफोर्ड, रहिम स्टर्लिङ बल लिएर तीव्र गतिमा दौडने खेलाडी हुन्। यी खेलाडीको उपस्थितिकै कारण इंग्ल्यान्डले काउन्टर अट्याकमा गोल गर्न सकिरहेको छ। सेनेगलसँगको खेलमा इंग्ल्यान्डले गरेका तीन गोलमध्ये दुई काउन्टर अट्याकमै सम्भव भएका थिए।

यही रणनीति इंग्ल्यान्डले फ्रान्सविरुद्ध पनि अख्तियार गर्नसक्छ। फेरि फुलब्याक यस्तो पोजिसन हो जहाँ फ्रान्स तुलनात्मक रुपमा कमजोर देखिएको छ। बेन्जामिन पाभार्ड घाइते भएसँगै राइटब्याक पोजिसन ओगटिरहेका युल्स कौन्डे इंग्लिस आक्रमणको निशानामा पर्न सक्छन्।

प्रकाशित: २४ मंसिर २०७९ २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =