घनश्याम भुसाल र प्रभु साहसहित १४ नेता एमालेबाट निष्काशित

हिमाल प्रेस २४ मंसिर २०७९ १९:३२
12
SHARES
घनश्याम भुसाल र प्रभु साहसहित १४ नेता एमालेबाट निष्काशित भुसाल र साह।

काठमाडौँ– नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहसाहित विभिन्न कमिटीका १४ जना नेतालाई कारबाही गरेको छ। शनिबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ती नेताहरूलाई कारबाही गर्दै पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।

हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको र पार्टीविरुद्ध लागेको भन्दै ती नेतालाई बैठकले कारबाही गरेको बैठकपछि नेताहरूले बताए। स्थायी कमिटी, केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरू कारबाहीमा परेका हुन्।

कारबाहीमा पर्नेहरूमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह, केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ), टेकबहादुर बलम्पाकी मगर (महोत्तरी), केन्द्रीय निकायका वांदी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर), लक्ष्मी साह (कैलाली) रहेका छन्।

यस्तै समानुपातिकतर्फको बन्दसूचिमा नाम रहेकी जैनव खातुन पनि पार्टी विरोधी गतिविधिमा लागेकाले उनको नाम सूचिबाट हटाइएको एमालेले जनाएको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचन परिणामबाट मुलुक अस्थिरतातर्फ जाने अवस्था देखिएको बताएका छन्। क्षयीकरण भइरहेको सामाजिक मूल्य मान्यता र आर्थिक संकटतर्फ धकेलिएको मुलुकलाई सही बाटोमा ल्याउन पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

एमालेका पुराना नेता भुसाल पार्टीले टिकट नदिएपछि रुपन्देही १ बाट स्वत्नत्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए भने ०७७ सालमा एमाले विभाजन हुँदा नेकपा माओवादी केन्द्रमा नगई एमालेमै बसेका साहले एमालेको टिकट वहिष्कार गरेर स्वतन्त्र उम्मेदवारका रूपमा रौतहट ३ बाट चुनाव लडेका थिए। जसमा भुसाल पराजित र साह निर्वाचित हुन्।

प्रकाशित: २४ मंसिर २०७९ १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =