अलैँचीको भाउ पर्खंदै व्यापारी र किसान

हिमाल प्रेस २४ मंसिर २०७९ १६:०२
8
SHARES
अलैँचीको भाउ पर्खंदै व्यापारी र किसान अलैँची टिप्दै किसान। फाइल तस्बिर

बिर्तामोड– अलैँचीको भाउमा गिरावट आएको छ। एक हप्ताअघि झापाको बिर्तामोडमा प्रतिमन २६ हजार रुपैयाँका दरले कारोबार भएको अलैँचीको भाउ अहिले २४ हजार रुपैयाँमा झरेको छ।

यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरलेसमेत कारोबार भएको थियो। क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैँची व्यवसायीले बताएका छन्।

यो वर्ष अलैँचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैँची व्यवसायी नरेन्द्र तिवारीले बताए। पछिल्लो समय अलैँचीको उत्पादनमा वृद्धि भएको तर माग न्यून भएकाले मूल्य नबढेको उनले जानकारी दिए।

यस वर्ष उनले झण्डै ४ सय मन अलैँची जम्मा गरेका छन्। जसमध्ये आधा जसो २९ हजार रुपैयाँका दरले किसानबाट लिइसकेका छन्। बजार र मूल्य नभएपछि सबै अलैँची गोदाममै थन्क्याएर राखेको उनले बताए।

यता किसानले समेत मूल्य पर्खिएर बसेका छन्। आफूले उत्पादन गरेको अलैँची साहुलाई जिम्मा लगाए पनि मूल्य बढ्ला भनेर भाउ काटेका छैनन्। मूल्य तलमाथि भइरहने भएकाले अन्योल हुने गरेको सिरीजंघा ७ खेवाङका किसान राजकुमार भट्टराईले बताए।

अलैँचीको बजारका लागि भारतकै भर पर्नुपर्ने भएकाले ठूला व्यापारी पनि समस्यामा परेका छन्। गत वर्ष प्रतिमन ४८ हजार रुपैयाँका दरलेसमेत कारोबार भएको थियो। त्यसयता क्रमिक रूपमा मूल्य घट्दै गइरहेको व्यवसायीले बताएका छन्।

प्रकाशित: २४ मंसिर २०७९ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =