पोखरा विश्‍वविद्यालयको केन्द्रीय कार्यालय विस्तार गरिने

हिमाल प्रेस २३ मंसिर २०७९ २०:०५
10
SHARES
पोखरा विश्‍वविद्यालयको केन्द्रीय कार्यालय विस्तार गरिने

पोखरा– पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय विस्तारका लागि सम्झौता गरिएको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्यालको उपस्थितिमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. दीपक भण्डारी र निर्माण व्यवसायीका तर्फबाट अधिकृत प्रतिनिधि सुरेश गौतमले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

पोखरा महानगरपालिका ३०, कास्कीमा रहेको विश्वविद्यालय परिसरभित्र अवस्थित दुई तले केन्द्रीय प्रशासनिक भवनमा दुई तला थपका साथै पर्खाल, प्रवेशद्वार, रजत स्तम्भ, जग्गा विकास (आन्तरिक बाटो, फुटपाथ, जलनिकास, बगैँचा र पार्किङस्थल आदि निर्माण) का लागि छनौट भएको एल.जि.ए. कन्स्ट्रक्सन, कोटेश्वर, काठमाडौँ र पोखरा विश्वविद्यालयबीच सम्झौता गरिएको हो।

आगामी पुस १ गतेदेखि निर्माण सुरू भई १५ महिनाभित्र सम्पन्न हुने निर्माण कार्यको सम्झौता लागत ११ करोड ८४ लाख ९८ हजार रूपैयाँ रहेको छ।

सम्झौतामा उल्लेख भएबमोजिम १ सय १४ रोपनी जग्गाको विश्वविद्यालय परिसरभित्रको ‘ए’ ब्लकमा रहेको हालको केन्द्रीय प्रशासनिक भवनलाई परिमार्जन र लिफ्टसहित २ तला थप गरी ४ तलाको बनाउने, प्रशासनिक भवनअगाडि रजत स्तम्भ निर्माण गरिने बताइएको छ।

यस्तै विश्वविद्यालय परिसरभित्रको ‘बी’ ब्लकस्थित खेलमैदानलाई व्यवस्थित गर्न चेनबार भएको पर्खालसहित प्रवेशद्वार निर्माण गर्ने र ‘सी’ ब्लकस्थित प्राज्ञिक भवन कम्प्लेक्सको उत्तरतर्फ सहायक प्रवेशद्वार निर्माण गरिनेछ।

यस्तै ‘डी’ ब्लकमा विश्वविद्यालयको शिक्षण अस्पताल निर्माणको अन्तिम चरण रहेको र त्यही ब्लकमा पोखरा विश्वविद्यालय सम्बन्धन प्राप्त कलेजहरूको संगठन ‘ओपेन’द्वारा अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र निर्माण भइरहेको विश्वविद्यालयका सूचना अधिकारी लोक ढकालले जानकारी दिए।

प्रकाशित: २३ मंसिर २०७९ २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =