ग्लोबल आइएमईको साधारणसभाबाट बीओकेसँग मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान

हिमाल प्रेस २३ मंसिर २०७९ १५:२९
8
SHARES
ग्लोबल आइएमईको साधारणसभाबाट बीओकेसँग मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)बीच मर्जर हुने अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार भएको साधारणसभामा मर्जरसम्बन्धी सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरूपमा पारित गरेको हो।

साधारणसभाले दुई बैंक मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल, अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १/१ स्वीकृत गरेको छ।

साधारणसभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँ वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्तावसमेत पारित गरेको छ। साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्‍यो।

साथै आर्थिक वर्ष ०७८/७९ को कुल मुनाफाबाट बैंकले प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पनि पारित गरेको छ।

बैंकले आर्थिक वर्ष ०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र करपछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले बैंकले आगामी दिनमा व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए।

आर्थिक वर्ष ०७८/७९ मा बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षभन्दा १ अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको छ।

बैंकको खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ। हाल बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।

प्रकाशित: २३ मंसिर २०७९ १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =