डीएफसीले कृषि र साना व्यवसायमा लगानी बढाउने, लक्ष्मी बैंकलाई साढे ४ करोड डलर ऋण दिँदै

हिमाल प्रेस २२ मंसिर २०७९ १७:०२
6
SHARES
डीएफसीले कृषि र साना व्यवसायमा लगानी बढाउने, लक्ष्मी बैंकलाई साढे ४ करोड डलर ऋण दिँदै

काठमाडौँ– अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी)ले नेपालको कृषि र साना तथा मझौला व्यवसायमा लगानी वृद्धि गर्ने भएको छ। डीएफसीका विकास ऋणसम्बन्धी उपाध्यक्ष जिम पोलनले नेपालमा दिगो कृषि र खाद्य सुरक्षालाई टेवा पुर्‍याउने व्यवसायहरूसँग भेट गरी लगानी वृद्धि गर्ने प्रतिबद्धता जनाएका हुन्।

डीएफसीले नेपालमा कृषि व्यवसायमा संलग्न लघु, साना तथा मझौला उद्यमहरूलाई कर्जा प्रदान गर्न पुँजी उपलब्ध गराउन लक्ष्मी बैंकलाई ४ करोड ५० लाख अमेरिकी डलरको प्रत्यक्ष ऋण र २५ लाख डलरको ऋण पोर्टफोलियो ग्यारेन्टी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

उक्त ऋण पोर्टफोलियो ग्यारेन्टी उपलब्ध गराउन डीएफसीले अमेरिकी सरकारको विकास नियोग यूएसएआइडी नेपालसँग सहकार्य गरेको छ।

आर्थिक वृद्धि र विकासको गति बढाउन डीएफसीले लक्ष्मी बैंकका अतिरिक्त लघु, साना तथा मझौला व्यवसाय लक्षित थप वित्तीय परियोजनामा सहयोग गर्ने भएको छ।

डीएफसीले यसअघि प्रविधि, स्वास्थ्य सेवा र नवीकरणीय ऊर्जामा लगानी बढाउन एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर प्रत्यक्ष ऋण दिएको थियो।

हाल नेपालमा डीएफसीको १६ करोड अमेरिकी डलरभन्दा बढीको लगानी छ। डीएफसीले विकासोन्मुख मुलुकका निजी क्षेत्रसँग साझेदारी गरी चुनौतीको समाधान गर्न वित्तीय स्रोत उपलब्ध गराउँछ।

प्रकाशित: २२ मंसिर २०७९ १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =