गहुँ छर्ने बेला भयो मल छैन

हिमाल प्रेस २२ मंसिर २०७९ १५:४९
14
SHARES
गहुँ छर्ने बेला भयो मल छैन फाइल तस्बिर।

पर्सा– पर्साका किसानलाई गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ। किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन्।

गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव कायमै छ। सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो।

कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि सहकारी संघमार्फत स्थानीय पालिकाको सिफारिसमा मल वितरण गर्दै आएको छ।

मल अभावका कारण किसानलाई वितरण गर्न नसकिएको सहकारी संस्थाले जनाएको छ।

‘हामीलाई उपलब्ध गराइएको परिमाणको मल किसानलाई बाँड्ने गरेका छौं,’ वीरगञ्ज महानगरपालिका २८ स्थित यौंग स्टार सहकारीका सञ्चालक हरिशंकर महतोले भने।

गहुँबालीका लागि तत्काल आवश्यक रासायनिक मल नपाएकाले गहुँबाली लगाउन समस्या भएको किसानको गुनासो छ।

यसअघि भारतीय बजारबाट जेनतेन गरी मल ल्याउने गरेकामा अहिले भारतीय प्रहरीले ल्याउन नदिएको वीरगञ्ज-१६ का रामबालक चौरसियाले बताए।

मल मात्र होइन किसानलाई गहुँको बीउसमेत अभाव भएको छ।

यसैबीच पर्सा १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जस्थित क्षेत्रीय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ पुगेर सहज रूपमा किसानलाई मल उपलब्ध गराउनेबारे छलफल गरेका छन्।

यस्तै पर्सा २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले पनि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, वीरगञ्जस्थित क्षेत्रीय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका कर्मचारीहरुसित मलको अवस्थाबारे जानकारी लिएका छन्।

प्रकाशित: २२ मंसिर २०७९ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =