अर्घाखाँचीमा कोल्ड स्टोर खुलेपछि सुन्तला किसानलाई राहत

हिमाल प्रेस २१ मंसिर २०७९ १५:२४
6
SHARES
अर्घाखाँचीमा कोल्ड स्टोर खुलेपछि सुन्तला किसानलाई राहत सांकेतिक तस्बिर।

अर्घाखाँची– अर्घाखाँचीको पणिनीमा शीत भण्डार (कोल्ड स्टोर) स्थापना भएको छ। कोल्ड स्टोर स्थापना भएपछि यहाँका किसानले उत्पादन गरेको सुन्तलाले उचित मूल्य पाउने भएको छ।

उत्पादित सुन्तला लामो सयमसम्म राख्ने व्यवस्था भएपछि सुन्तला भण्डारण गर्ने र सुन्तला उत्पादनको समय सकिएपछि बिक्रीका लागि बजार पुर्‍याएर किसानले राम्रो मूल्य पाउने अपेक्षा गरेका छन्।

विगत वर्षमा यहाँ उत्पादित सुन्तला बुटवल, तानसेन र भैरहवाका बजारमा सस्तो मूल्यमा बिक्री गर्न बाध्य बनेका किसान यसवर्ष पाणिनीको पोखराथोकमा कोल्ड स्टोर स्थापना भएपछि सुन्तला भण्डारण गर्न थालेका छन्।

अहिले मौसमी रूपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री गर्न पाउने भएपछि किसानलाई लाभ हुने स्थानीय किसान चिरञ्जीवी पौडेलको भनाइ छ।

कुहिएर नोक्सान हुने सुन्तला अहिले कोल्ड स्टोरमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने यहाँका किसानको अपेक्षा रहेको किसान पौडेलले बताए।

पाणिनी गाउँपालिका १ सिम्लेमा मात्र १ गाउँमा ४९ घर किसान व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनीहरूले सबैले सुन्ताल बेचेर कम्तीमा ३ लाख देखि २८ लाख रुपैयाँसम्म आम्दानी गर्छन्।

गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तला खेतीमा लागेको र सुन्तला खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको किसान रेवतीराज पौडेलले जानकारी दिए। आफ्नो बारीमा रहेका ५ सय ५५ सुन्तलाका बोटबाट २ सय ५० क्वीन्टलभन्दा बढी सुन्तला फलेको उनको भनाइ छ।

स्थानीय किसान दधिराम गौतमले गत वर्ष सुन्तला बिक्रीबाट ९ लाख रुपैयाँ आम्दानी गरेको र यसवर्ष सुन्तला बढी फलेकाले १४ लाख रुपैयाँ आम्दानी गर्ने आकलन गरेको बताए।

वैदेसिक रोजगारीबाट फर्किएका युवा पनि सिम्लेमा व्यावसायिक सुन्तला खेतीमा लागेका छन्।

व्यवसायिक सुन्तला खेतीमा लागेका सिम्लेका हरि पौडेलको बगैँचामा रहेका झण्डै ५ सय सुन्तलाका बोटबाट वार्षिक १० देखि १२ लाख आम्दानी हुने गरेको बताए। कोल्ड स्टोर स्थापना भएपछि यसवर्ष बढी फाइदा हुने उनले बताए।

प्रकाशित: २१ मंसिर २०७९ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =