फिफा विश्वकपको ट्रफी अनावरण गर्ने दीपिका पहिलो अभिनेत्री

हिमाल प्रेस २१ मंसिर २०७९ ११:५०
4
SHARES
फिफा विश्वकपको ट्रफी अनावरण गर्ने दीपिका पहिलो अभिनेत्री

काठमाडौँ- भारतीय अभिनेत्री दीपिका पादुकोणले ‘फिफा विश्वकप २०२२’ को समापन समारोहमा ट्रफीको अनावरण गर्ने भएकी छन्।

कतारमा भइरहेको विश्वकप फुटबलको अन्तिम खेल डिसेम्बर १८ मा हुनेछ। त्यसका लागि दीपिका कतार जाने भारतीय अंग्रेजी पत्रिका ‘द इकोनोमिक टाइम्स’ले जनाएको छ।

‘डिसेम्बर १८ मा तय गरिएको समापन कार्यक्रममा भाग लिन दीपिका चाँडै कतार प्रस्थान गर्नेछिन्,’ पत्रिकाले लेखेको छ।

‘कान्स फिल्म फेस्टिभल २०२२’ मा निर्णायक मण्डलमा रहेकी दीपिकाले फिफाको ट्रफी अनावरण गर्ने खबरले भारतीयलाई गर्व महसुस गराएको पनि पत्रिकाले लेखेको छ।

संसारभरिका खेलप्रेमीले हेर्ने विश्वकपको समापन समारोहमा ट्रफी अनावरण गर्न पाउनु दीपिकाका लागि ठूलो उपलब्धि हो। ३६ वर्षीया उनी फुटबल विश्वकपको अनावरण गर्ने पहिलो अभिनेत्री बन्नेछिन्।

फिफा विश्वकपको अन्तिम खेल कतारको लुसेल आइकोनिक स्टेडियममा हुनेछ।

यसअघि बलिउड अभिनेत्री नोरा फतही पनि ‘फिफा फ्यान फेस्ट’ कार्यक्रममा देखिएकी थिइन्। जहाँ उनले विश्वकपको गीत ‘लाइट द स्काई’ मा नृत्य प्रस्तुत गरेकी थिइन्।

दीपिका जनवरी २५ मा प्रदर्शनमा आउने फिल्म ‘पठान’मा देखिनेछिन्। फिल्ममा उनले शाहरुख खान र जोन अब्राहमसँग काम गरेकी छन्। त्यसबाहेक उनी अमिताभ र प्रभासको अभिनय रहेको फिल्म ‘प्रोजेक्ट के’ मा देखिनेछिन्।

रणवीर सिंह अभिनीत फिल्म ‘सर्कस’मा दीपिका अतिथि भूमिकामा छिन्। केही दिनअघि ‘सर्कस’को ट्रेलर सार्वजनिक भएको थियो। फिल्मको गीतमा नृत्य गरिरहेकी दीपिकाको दर्शकले खूब प्रशंसा गरिरहेका छन्।

 

प्रकाशित: २१ मंसिर २०७९ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =