प्रदेश १ मा सरकार बनाउन एकसिटे जसपा निर्णायक!

विवेक विवश रेग्मी २१ मंसिर २०७९ १०:२५
392
SHARES
प्रदेश १ मा सरकार बनाउन एकसिटे जसपा निर्णायक!

इटहरी- प्रदेश १ मा कुनै दलको पनि बहुमत नपुगेपछि सरकार बनाउनै सकस हुने देखिएको छ। प्रदेशमा नेपाली कांग्रेसभन्दा बढी सिट जितेर पहिलो पार्टी बनेको नेकपा एमाले एक्लैको बहुमत नपुगेपछि सरकार बनाउनै सकस हुने भएको हो।

अहिलेकै गठबन्धनको टिकिरहेको अवस्थामा सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसलाई पनि सरकार बनाउन एक सिट अपुग छ। ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सिट आवश्यक पर्छ।

प्रत्यक्षतर्फ २५ सिटमा जित हासिल गरेको एमालेले समानुपातिकमा ६ लाख ६५ हजार ४६० मत पाउँदा १५ थपिएको छ। प्रत्यक्ष र समानुपातिक गरी एमालेको ४० सिट पुगेको छ।

यस्तै प्रत्यक्षतर्फ १७ सिट जितेको नेपाली कांग्रेसले ५ लाख ६२ हजार ९५६ प्राप्त गर्दै थप १२ सिट पाएको छ। कांग्रेसको कुल २९ सिट छ।

प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकमा १ लाख ९८ हजार ५११ मत पाएको छ। जसअनुसार राप्रपाले अरू ४ सिट पाउँदा कुल ६ सिट हुन्छ।

माओवादी केन्द्र प्रत्यक्षतर्फ ९ सिट जितेको छ। समानुपातिकमा १ लाख ८१ हजार २४५ मत प्राप्त गरेको छ। माओवादी केन्द्र समानुपातिकमा चौथो स्थानमा झरेको हो। माओवादीले अरू ४ सांसद पाउँदा कुल १३ सिट हुन्छ।

यस्तै प्रत्यक्षमा ३ सिट जितेको नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकमा ५५ हजार ९५७ मत पाउँदै १ सिट पाउँदा कुल ४ सिट हुन्छ। प्रत्यक्षमा एउटा पनि सिट नजितेको जनता समाजवादी पार्टीले समानुपातिकतर्फ ६१ हजार ७२३ मत प्राप्त गरेको छ। जसअनुसार जसपाले समानुपातिकमा १ सिट पाएको छ।

प्रदेश १ मा प्रत्यक्ष र समानुपातिकसहित नेकपा एमालेको ४०, नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादी पार्टीको ४ र जसपाको १ सिट छ।

एमाले–राप्रपा र जसपा गठबन्धन गर्दै सरकारमा सहभागी भएमा एमालेको नेतृत्वमा सरकार बन्ने छ। सत्ता गठबन्धनबाट सरकार बनाउनका लागि एक सिट अभाव हुन्छ। तर, जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल निर्वाचनसम्मका लागि मात्रै भएको अभिव्यक्ति दिएपछि प्रदेश १ मा सरकार बनाउन एमालेलाई सकस भएको छ।

प्रदेश १ मा सरकार बनाउन राप्रपा र जसपा निर्णायक बन्ने भएका छन्। जसपाले सत्ता गठबन्धनसँग सहकार्य गरेमा कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ। तर, अहिलेसम्म सरकारमा सहभागी हुने–नहुने भन्नेबारे राप्रपा र जसपा मौन छन्। जसकारण सरकार बनाउन ठूला दललाई सकस भएको हो।

प्रकाशित: २१ मंसिर २०७९ १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + one =