गगन थापाको प्रश्न : देश बदल्छौँ भन्दा बाबुको उमेर कति भनेर सोध्ने?

हिमाल प्रेस २० मंसिर २०७९ १७:२०
1.5k
SHARES
गगन थापाको प्रश्न : देश बदल्छौँ भन्दा बाबुको उमेर कति भनेर सोध्ने? तस्बिर स्रोत : गगन थापको फेसबुक

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा हालै काठमाडौँ-४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले देश बनाउँछु भनेर लाग्दा भाँजो हाल्ने काम भइरहेको बताएका छन्। मंगलबार विराटनरगरमा कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टीको १४औं महाधिवेशनदेखि नै डा.शेखर कोइरालासँगै रहेर पार्टी सुधारका लागि पनि लडिरहेको बताए। देश बदल्ने अभियान नै बनाएर हिँड्दा उमेर सोधिन थालेको भन्दै उनले आपत्ति जनाए।

‘देश बदल्छौँ भन्दा बाबुको उमेर कति हो भनेर सोध्ने? कुन दाइ रिसाउनुहुन्छ मतलब गर्नुहुँदैन। अब मनको डर निकाल्नुपर्छ’ उनले भने, ‘कांग्रेसले यसपल्ट सरकार यसरी चलाउँछ भनेर देखाउन सके लाखौँ मतदाता कांग्रेसतिरै आउँछ। अर्कोपल्ट कांग्रेस ४० प्रतिशतको पार्टी बन्छ।’

थापाले शेखर कोइरालासँग एक भएर पार्टी सुधारको लागि एजेन्डा बनाएर अघि बढेको भन्दै उनले अब पनि कोइरालासँगै काम गर्ने बताए।

‘हामी उहाँकै नेतृत्वमा, उहाँसँगै रहेर काम गर्छौँ । पार्टीभित्र पनि सुधारका एजेन्डा अघि सार्छौँ। विधिको शासन स्थापित गर्न व्यापकरुपमा काम गर्छौँ। कांग्रेसको लोकप्रिय मत घट्यो भन्ने चिन्ता लाग्नु स्वाभाविक हो। हामी एक्लै लडेर आएको होइन मिलेर लड्दा आएको सिट हो’ उनले भने।

सोही कार्यक्रममा नेता कोइरालाले आगामी सरकार गठबन्धनकै बन्ने दाबी गरे।

प्रकाशित: २० मंसिर २०७९ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =