व्यवसायीसँग प्रधानमन्त्रीले भने- अर्थतन्त्रका समस्या समाधानमा पहल गर्छु

हिमाल प्रेस २० मंसिर २०७९ १६:२७
8
SHARES
व्यवसायीसँग प्रधानमन्त्रीले भने- अर्थतन्त्रका समस्या समाधानमा पहल गर्छु

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरी समाधान निकाल्ने प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्रीसँग महासंघको टोलीले अर्थतन्त्रमा बहुआयामिक असर परेको र मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले सम्बोधन गर्न नसकेको जानकारी गराएको थियो।

भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुझिदिन आग्रह गरे। उनले मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र संकुचित हुँदै गएको भन्दै सरकारले तत्काल केही उपाय अपनाउनुपर्ने ध्यानाकर्षण गराए।

लगानी संकुचित भएर अर्थतन्त्रमा चाप परिरहेको समयमा लागू भएको चालु पुँजी मार्गदर्शनले व्यवसायमा थप जटिलता थपेको महासंघको भनाइ छ।

ब्याजदरको उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक असहजता, उच्च इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिस्टिक्स र फ्रेट शुल्कसमेत वृद्धि भएको विषय महासंघले प्रधानमन्त्रीलाई जानकारी गराएको छ।

महासंघले चालु पुँजी मार्गदर्शनको कार्यान्वयन कम्तीमा दुई वर्ष स्थगन गर्नुपर्ने, तरलता व्यवस्थापन एवं ब्याजदर घट्नुपर्ने, कम्तीमा एक वर्ष पुनर्कर्जा नवीकरणको सुविधा दिइनुपर्नेलगायत विषय उठाएको छ।

‘अर्थतन्त्र जोगाऔँ’ अभियानमा रहेको महासंघको नेतृत्वले पछिल्ला दिनमा शीर्ष राजनीतिक भेटघाटलाई तीव्र बनाएको छ।

महासंघको पदाधिकारी टोलीले अर्थमन्त्री जनार्दन शर्मा, आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडू, गभर्नर महाप्रसाद अधिकारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेटेर समस्या सुनाइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =