पानीबिनाको ‘आँखा पोखरी’

हिमाल प्रेस १९ मंसिर २०७९ ११:१५
10
SHARES
पानीबिनाको ‘आँखा पोखरी’

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा निर्माण गरिएको आँखा पोखरी सुकेको छ। २०७५ साउन २६ गते उद्घाटन गरिएको आँखा पोखरी पानी व्यवस्थापन नहुँदा सुकेको हो।

ऐतिहासिक महुरेगढी नजिक किराती राजा भ्रमराजले वि.स. १८३० मा निर्माण गरेको पोखरीलाई कंक्रिट गरेर आँखा आकारको पोखरीको रूप दिइएको थियो।

मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थलका रूपमा रहेको महुरेमा ५१ लाखको लागतमा निर्माण गरिएको ३२ मिटर लम्बाई भएको आँखा पोखरी अहिले सुक्खा पोखरीमा परिणत भएको छ।

नगरपालिकाको ४३ लाख र स्थानीयवासीको आठ लाख बराबरको जनश्रमदानमा बनाइएको पोखरीकोबीच भागमा ब्रिज डाइनिङ र आसपासमा रेलिङ बार राखिएको छ। पोखरी निर्माणमा पर्यटन मन्त्रालयको बजेट समेत खर्च भएको छ। तर, मुहान व्यवस्थापन नहुँदा पोखरीमा पानी भर्न समस्या भएको छ।

समुद्री सतहदेखि करिब दुई हजार दुई सय मिटरको उचाइमा रहेको महुरेगढीको पर्यटन प्रवर्द्धनका लागि भन्दै बनाइएको पोखरीमा नियमित पानी व्यवस्थापन नहुँदा बजेट खर्च मात्र गर्ने प्रवृत्ति झल्किएको स्थानीय बताउँछन्।

आँखा पोखरीका लागि पानीको छुट्टै स्रोत व्यवस्थापन गरिएको छैन। खानेपानीको पाइप चुँडाएर पोखरीमा पानी हाल्ने गरिएको थियो। तर, पिउने पानीकै अभाव हुन थालेपछि पोखरीमा पानीको अभाव भएको नुनथलाका पूर्ववडाध्यक्ष भीम राई बताउँछन्।

‘पोखरीका लागि मुहानको व्यवस्था छैन। हलेसीतिर लगेको खानेपानीको पानी निकालेर हाल्ने गरिएको थियो,’ राईले भने, ‘अहिले खानेपानी छैन। कहाँबाट पोखरीमा पानी हाल्नु ! सुक्खा पोखरी भइसक्यो।’

पुष्पलाल मध्यपहाडी लोकमार्गको क्षेत्र सेन्टरबाट दायाँबायाँ ६२ मिटर कायम गरिएको छ। त्यो बेला मापदण्ड मिचेर मध्यपहाडी लोकमार्ग क्षेत्रभित्र पोखरी निर्माण गरिएको भन्दै विरोध भएको थियो।
पोखरी निर्माणका क्रममा नगरपालिकाले वडा कार्यालय नुनथलासँग समन्वय पनि गरेको थिएन। अहिले सगरमाथा राजमार्ग कालोपत्रे गर्ने क्रममा सडक फराकिलो बनाउँदा पोखरीको बारलाई मिचेर माटो थुपारिएको छ।

मध्यपहाडी र सगरमाथा राजमार्ग थप फराकिलो बनाउने क्रममा भविष्यमा पोखरीलाई थप क्षति पुग्ने देखिएको छ।

प्रकाशित: १९ मंसिर २०७९ ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =